टि-१० लिग : दोश्रो खेलमा सोमपालको महँगो ओभर

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत नेपाली खेलाडी सोमपाल कामि आबद्ध टिम मराठा अरबियन्स दोश्रो खेलमा दिल्ली बुल्ससंग पराजित भएको छ।

शेख जायद स्टेडीयम, अबुधाबीमा सम्पन्न खेलमा मराठाले दिएको ८८ रनको लक्ष्य दिल्लीले मात्र १ विकेट गुमाएर ५ ओभरमै भेटायो।

दिल्लीको लागि ओपनर इभिन लुइसले १६ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै अविजित ५५ रन बनाए। यस्तै रभी बोपाराले १२ बलमा ५ चौका मद्दतले २८ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ८७ रन बनाएको थियो। उसको लागि कप्तान मोसद्देक हुसेनले सर्वाधिक ३५ रन तथा जाभेद अहमदीले २४ रन बनाए। दिल्लीका बलर अमद बट, फिडेल एडवार्ड्स र अलि खानले १/१ विकेट लिए।

सोमपालको महँगो ओभर

इनिंग्सको दोश्रो ओभरमा बलिंग गर्न आएका सोमपाल निकै महँगो सावित भए। ओभरको पहिलो ३ बलमा इंग्ल्यान्ड राष्ट्रिय क्रिकेटर रहीसकेका रभी बोपाराले लगातार चौका प्रहार गरे। चौथो बलमा सोमपालले रन दिएनन्। तर पाँचौ बलमा बोपाराले पुनः चौका हिर्काएर चौका संख्या ४ पुर्याए। अन्तिम बलमा सोमपालले १ रन दिए। ओभरमा सोमपालले १७ रन खर्चिए।

अघिल्लो खेलमा सोमपालले नर्थर्न वारियर्स बिरुद्ध २ ओभर बलिंग गर्ने क्रममा सोमपालले २८ रन खर्चिएका थिए। मराठाले लिगमा आगामी खेल शनिबार राति ५:४५ बजे बंगला टाइगर्स बिरुद्ध खेल्नेछ।

२०७७ माघ १६, शुक्रबार मा प्रकाशित