एपीएफलाई पराजित गर्दै आर्मीलाई प्रधानमन्त्री कपको उपाधि

नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले यस अघि पहिलो प्रधानमन्त्री कपको उपाधि जितेको थियो जुन क्रममा नेपाल पुलिससंग उपाधि बाँडेको थियो।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफले ४१.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा एपीएफको लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए। सन्दिप जोराले २९ रन, शंकर रानाले २१ रन, सुमित महर्जनले १९ रन तथा सुबास खकुरेलले १४ रन बनाए।

एक समय १४१ रनमा ४ विकेट गुमाएको एपीएफले थप ३७ रन जोड्दा बाँकी ६ विकेट पनि गुमाउन पुग्यो। उसको अन्तिम ४ जना ब्याट्सम्यान मात्र ४ रनको अन्तरमा पेभेलियन फर्किए।

शाहब आलमले ३ विकेट लिए

एपीएफका ओपनर सुबास खकुरेल र शरद भेसावकरलाई जितेन्द्र मुखियाले चौथो ओभरमा लगातार बलमा पेभेलियन फर्काएका थिए। तेश्रो विकेटको लागि आसिफ शेखले शंकर रानासंग ७१ रनको साझेदारी गरे। २० औं ओभरमा शंकरलाई शाहब आलमले विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गरे। २७ औं ओभरमा आसिफ शेखलाई जितेन्द्रले क्याच आउट गर्दै आर्मीलाई खेलमा हावी गरे। त्यसपछि सन्दिप जोराले पाँचौ विकेटको लागि सुमित महर्जनसंग २४ रनको तथा छैठौं विकेटको लागि भुवन कार्कीसंग १९ रको साझेदारी गरे। ३९ औं ओभरमा जोरालाई बिक्रम सोबले क्याच आउट गराए पछि भने एपीएफले लगातार विकेट गुमाउन पुग्यो। १७४ रनको योगफलमा जोराको विकेट गएपछि थप ४ रन योगफलमा जोड्दा एपीएफ अलआउट हुन पुग्यो।

त्रिभुवन आर्मी क्लबको बलिंगमा बिक्रम सोब, जितेन्द्र मुखिया र शाहब आलमले समान ३ विकेट लिए। सुशन भारिले १ विकेट लिए।

यस अघि टस जितेर एपीएफले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको थियो।

आर्मीको लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए १०२ बलमा ६ चौका प्रहार गरे। राजेश पुलामीले २८ रन, शाहब आलमले अविजित २५ रन, लोकेश बमले १५ रन रोहित पौडेल र सुशन भारिले समान १३ रन तथा अनिल मण्डल र बिक्रम सोबले समान ११ रन बनाए। भिम शार्की र बिनोद भण्डारीले समान ७ रन बनाए।

अविनाश बोहराले ४ विकेट लिए

ओपनिंग ब्याटिंग गरेका सुशन भारि र अनिल मण्डलले पहिलो विकेटको लागि ३२ रनको साझेदारी गरे। नवौं ओभरमा भारिलाई किशोर महतोले विकेट पछाडी आउट गराए। त्यसपछि लगत्तै ओभरमा अनिल मण्डललाई अविनाश बोहराले स्लिपमा क्याच आउट गराए। भिम शार्की पनि १८ औं ओभरमा बोहराबाट विकेटपछि क्याच आउट हुँदा आर्मी दबाबमा आयो।

त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका हरि चौहानले एक किनार सम्हालेर ब्याटिंग गरे। त्यस क्रममा २७ औं ओभरमा रोहित पौडेललाई भुवन कार्कीले तथा ३४ औं ओभरमा बिनोद भण्डारीलाई कमल ऐरीले पेभेलियन फर्काए। छैठौं विकेटको लागि हरि र राजेश पुलामीले ४४ रनको साझेदारी गरे। ४४ औं ओभरमा पुलामीलाई किशोर महतोले कट एण्ड बोल्ड गरे। लोकेश बम पनि ४५ औं ओभरमा अविनाश बोहराबाट क्याच आउट हुन पुगे। ४७ औं ओभरमा हरि चौहानलाई अविनाश बोहराले क्याच आउट गराए। तल्लो क्रममा शाहब आलमले केहि आक्रामक सट खेल्दै टिमको योगफल २ सय पार गराए।

प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले बागमती प्रदेशलाई पराजित गरेको थियो।

एपीएफको बलिंगमा अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै २५ रन खर्चिए। किशोर महतोले २ विकेट लिंदा कमल ऐरी र भुवन कार्कीले समान १ विकेट लिए।

२०७७ माघ १७, शनिबार मा प्रकाशित