आहा ! रारा गोल्ड कप चैत १७ देखि

१९ औं सस्करणको आहा ! रारा गोल्ड कप चैत १७ देखि २८ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।

सहारा क्लव पोखराले एक पत्रकार भेटघाट मार्फत उक्त कुराको जानकारी दिएको हो । सो अवसरमा प्रतियोगिताको तयारी बारे जानकारी दिंदै क्लवका अध्यक्ष केशव बहादुर थापाले प्रतियोगितामा १२ टिमको सहभागिता रहने जानकारी दिए । उनले भने–“यद्यपी हामी कोभिड १९ को विषम परिस्थितीबाट अगाडी बढिरहेका छौं आशा छ हामीले भने जस्तै गरि विदेशी, स्वदेशी ए डिभिजनका क्लव तथा मोफसलका गरी १२ टिमको सहभागिता गराउने प्रयासमा छौं ।”

सहाराले प्रतियोगिताको तयारी बारे घोषणा गरे पनि पुरस्कार राशी, दर्शक सँख्या र टिकट दर भने कोभिड १९ को परिस्थितीलाई आकंलन गरेर मात्रै जानकारी गराउने अध्यक्ष थापाले बताए । तर उनले पुरस्कार राशीमा १९ औं सस्करणमा नघट्ने बताउँदै थप गर्ने बारे सहाराको बैठकबाट टुङ्गाउने बताए । अध्यक्ष थापाले १९ औं सस्करणका लागि विदेशी क्लव निमन्त्रणाका लागि प्रयास भइरहेको जानकारी दिंदै प्रतियोगितालाई रोचक बनाउने तर्फ क्लवले सोचिरहेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले १९ औं आहा रारा गोल्डकपको सफलताको शुभकामना व्यक्त गर्दै पोखरा रंगशालामा २० हजार दर्शक संख्या पुर्याउने गरी काम शुरु गरिने बताए । उनले भने–“पोखराको पर्यटनलाई खेल क्षेत्रबाट समेत दिगो बनाउन रंगशालामा फ्लड लाइटको व्यवस्था अपरिहार्य रहेकोले राखेपले यसबारे काम अघि बढाउने तयारीमा छ ।”

सो अवसरमा सहारा युकेका महासचिब धनु थकालीले प्रतियोगिता सफल बनाउन सहारा युकेको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउँदै प्रतियोगितामा वितरण गरिने पदकहरु युकेबाट ल्याउने गरी पहल गरिने बताए । अहिले कोभिड १९ को विषम परिस्थितीलाई समेत मध्ये नजर गर्दै सहाराका सदस्यहरु युकेबाट पोखरा आउने तयारी गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा सहारा क्लवका महासचिब रामजी प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लगाएतले प्रतियोगिताको विविध पक्षबारे जानकारी दिएका थिए ।

तस्विरः सुदर्शन रञ्जित

२०७७ माघ १७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment