टि-१० लिग : करन केसीले गरे क्रिस गेललाई बोल्ड

युएईमा जारी टि-१० लिग अन्तर्गत नेपाली फास्ट बलर करन केसीले क्रिस गेलको विकेट लिएका छन्।

लिगमा पुने डेभिल्स टिमको प्रतिनिधित्व गरिरहेका करनले खेलको चौथो ओभरको पहिलो बलमा गेललाई बोल्ड गरेका हुन्।

पुनेले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा टिम अबुधाबीले ३ ओभरमा ४२ रन बनाएर १ विकेट गुमाएको अवस्थामा करन पहिलो ओभर बलिंग गर्न आएका थिए।

९ रन बनाएर ब्याटिंग गरिरहेका गेललाई करनले पहिलो बलमा बोल्ड गर्दै पुनेलाई खेलमा हावी बनाएका थिए। गेलले करनको बललाई पुल गर्न खोज्ने क्रममा ब्याटको भित्रि किनारा लागेर बोल्ड भएका थिए।

लिगमा तेश्रो खेल खेल्ने क्रममा नेपाली खेलाडीले लिएको यो पहिलो विकेट हो। यस अघि दुई खेल खेल्दा करन विकेटविहिन रहेका थिए।

करनले गेलको विकेट लिएता पनि पहिलो ओभर बलिंग गर्ने क्रममा एकै ओभरमा १८ रन खर्चिए।

त्यसपछि ओभरको दोश्रो बलमा वाइड दिएपछि लगत्तै बलमा लुक राइटले उनलाई चौका प्रहार गरे। त्यसपछिको बलमा राइटले १ रन लिए। त्यसपछिको लगातार ३ बलमा जोए क्लार्कले करनलाई ३ चौका प्रहार गरे।

यस अघि इनिंग्सको दोश्रो ओभरको पाँचौ बलमा करनले पल स्टरलिंगको क्याच छोडेका थिए जसपछि कमेन्टेटरले करनको आलोचना गरेका थिए। करनले अगाडी डाइभ गरेता पनि बल समाप्त सकेका थिएनन्।

प्रतियोगिता अन्तर्गत करनले पहिलो खेलमा डेक्कन ग्ल्याडीएटर्ससंग १ ओभर बलिंग गर्दा १७ रन खर्चेका थिए भने दोश्रो खेलमा कलन्दर्स बिरुद्ध १ ओभर बलिंग गर्दै मात्र ९ रन खर्चेका थिए।

पुने पराजित 

खेलमा टिम अबुधाबीले पुनेले दिएको १३० रनको लक्ष्य ८.३ ओभरमा पुरा गर्दै ५ विकेटको जित दर्ता गर्यो।

अबुधाबीको ब्याटिंगमा जेमी ओभरटनले अविजित ३८ रन बनाउने क्रममा ११ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। जोए क्लार्कले २९ रन, पल स्टरलिंगले २३ रन तथा बेन डकेटले २० रन बनाए। पुनेको बलिंगमा हार्दुस भिलजोएनले २ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन। करन केसी र एहमद राजाले समान १ विकेट लिए।

खेलमा टस हारेर ब्याटिंग गरेको पुनेले १० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो।

पुनेको लागि ओपनर टम कोहलरले सर्वाधिक ६१ रन बनाए जुन क्रममा २५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। उनले २१ बलमा अर्धशतक पुरा गरेका थिए। चाडविक वाल्टनले १४ बलमा २३ रन तथा डेभोनं थोमसले ९ बलमा २१ रन बनाए। टिम अबुधाबीका बलर ओबेद म्याकोयले २ विकेट लिए जुन क्रममा २ ओभर बलिंग गर्दै मात्र ९ रन खर्चिए। रोहन मुस्तफाले १ विकेट लिए।

प्रम कप : सन्दिप जोरासंग भनाभन गर्दा राजेश पुलामीलाई कारवाही

२०७७ माघ १८, आईतवार मा प्रकाशित