सोमपालको बलमा गेलको लगातार ३ छक्का, १२ बलमै बनाए अर्धशतक

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत नेपाली फास्ट बलर सोमपाल कामि बिरुद्ध वेस्ट इन्डिज ब्याट्सम्यान क्रिस गेलले आक्रामक ब्याटिंग गरेका छन्।

गेलले आक्रामक ब्याटिंग गर्दा खेलमा मराठा अरबियन्सले दिएको ९८ रनको लक्ष्य टिम अबुधाबीले ५.३ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो।

गेलले आक्रामक इनिंग खेल्ने क्रममा १२ बलमै अर्धशतक प्रहार गरेका थिए। ‘युनिभर्स बोस’ गेलले ५ चौका र ५ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए।  त्यसपछि पनि गेल रोकिएनन् र अविजित ८४ रन बनाउदै टिमलाई जित दिलाए। यस क्रममा गेलले मात्र २२ बलमा ९ छक्का र ६ चौका प्रहार गरे।

गेलले प्रहार गरेको १२ बलको अर्धशतक टि-१० लिग इतिहासकै संयुक्तरुपमा छिटो अर्धशतक हो। यस अघि अफगानिस्तान क्रिकेटर मोहम्मद हफिजले २०१८ मा १२ बलमै अर्धशतक बनाएका थिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनाएको थियो। मराठाको लागि आलिशान शर्फुले सर्वाधिक ३३ रन, मोहम्मद हफिजले २० रन तथा शोयब मलिकले अविजित १५ रन बनाए। टिम अबुधाबीको बलिंगमा ओबेद म्याकोयले २ तथा नाभिन उल हक र जेमी ओभरटनले समान १ विकेट लिए।

सोमपालको बलमा गेलको लगातार ३ छक्का 

लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमा यामिन अहमदजाईले गरेको पहिलो ओभरमा गेलले ३ चौका र १ छक्का प्रहार गरेका थिए। दोश्रो ओभर बलिंग गर्न आएका सोमपालले गेललाई बलिंग गर्ने अवसर त पाए तर उनको अनुभव भने नमिठो रह्यो। अघिल्लो खेलमा करन केसीले गेललाई आउट गरेपछि गेल र सोमपाल भेट हुँदा नेपाली फ्यानहरुको सोहि आशा पुरा हुन सकेन।

दोश्रो ओभरमा बलिंग गर्न आएका सोमपाललाई पहिलो बलमा पल स्टरलिंगले डिप स्क्वायर लेगमा चौका प्रहार गरे। ओभरको दोश्रो बलमा पनि स्टरलिंगले चौका हिर्काए जुन क्रममा अफस्टम्प बाहिर गरेको बललाई मिड-अफको माथिबाट प्रहार गरे। तेश्रो बलमा स्टरलिंगले १ रन लिएर क्रिस गेललाई स्ट्राइक दिए।

ओभरको चौथो बलमा गेलले सोमपालको स्वागत छक्काबाट गरे। लंगअन बाउन्ड्रीमा फिल्डरले क्याचको प्रयास गरेता पनि हातमा लाग्दै बलले बाउन्ड्री पार गर्यो।

पाँचौ बलमा पनि गेल रोकिएनन् र उही नतिजा दोहोर्याए। सोमपालले दिएको फुल लेन्थ बललाई लंगअफको माथि गेलले छक्का प्रहार गरे।

छैठौं बलमा पनि गेल रोकिएनन् र छक्काको ह्याट्रिक पुरा गरे। सोमपालले पुनः फुल लेन्थ बल दिए जसलाई गेलले जस्तो आयो त्यस्तै बलरको माथिबाट छक्का हिर्काए।

ओभरमा सोमपालले २७ रन खर्चिए जुन जारी लिगमा सोमपालको सबैभन्दा महँगो ओभर रह्यो। यस अघि सोमपालले सबैभन्दा धेरै एकै ओभरमा १९ रन खर्चेका थिए।

लिगको यो सिजन एकै ओभरमा सबैभन्दा बढी रन खर्चने बलर सोमपाल बनेका छन्।

लिगमा हालसम्म सोमपाल कामिले खेलेको ५ खेलमा १ विकेट लिन सकेका छन्। लिग अन्तर्गत अघिल्लो खेलमा सोमपालले विकेटको खाता खोल्ने क्रममा कलन्दर्सका सोहेल अख्तरलाई एलबिडब्लु आउट गरेका थिए। खेलमा उनले १ ओभर बलिंग गर्दा १९ रन खर्चेका थिए। त्यस अघिको तिन वटा खेलमा सोमपाल विकेटविहिन रहेका थिए। उनले पहिलो खेलमा नर्दर्न वारियर्स बिरुद्ध २ ओभरमा २८ रन खर्चेका थिए। यस्तै दोश्रो खेलमा दिल्ली बुल्स बिरुद्ध १ ओभरमा १७ रन खर्चेका थिए। तेश्रो खेलमा बांग्ला टाइगर्स बिरुद्ध १ ओभरमा उनले १२ रन खर्चेका थिए।

यो पनि पढ्नुस :-

इंग्ल्यान्ड द हन्ड्रेड लिग : सन्दिप लामिछानेलाई ओभलले गर्यो रिटेन

२०७७ माघ २१, बुधबार मा प्रकाशित