टि-१० लिग : कुशल आवद्ध टिम अबुधाबी प्लेअफ पुग्न सफल

जित्ने पर्ने खेलमा बांग्ला टाइगर्सलाई २१ रनले पराजित गर्दै ‘टिम अबुधाबी’ अबुधाबी टि-१० लिगको प्लेअफ पुग्न सफल भएको छ।

शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न सुपर लिग चरणको अन्तिम खेलमा टिम अबुधाबीले दिएको ११७ रनको लक्ष्य पछ्याउने क्रममा बांग्लाले १० ओभरमा ९ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।

बांग्लाको ब्याटिंगमा ओपनर जोन्सन चार्ल्सले सर्वाधिक ५९ रन बनाए जुन क्रममा २३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। टम मुरेसले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ३ जना ब्याट्सम्यानले खाता समेत खोल्न नसकी आउट भए।

टिम अबुधाबीको बलिंगमा फास्ट बलर जेमी ओभरटन एक्लैले ४ विकेट लिए जुन क्रममा ३ विकेट इनिंग्सको अन्तिम ओभरमा लिएका थिए। ओबेद म्याकोय र नभिन उल हकले समान २ विकेट र टम हेल्मले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको टिम अबुधाबीले १० ओभरमा ३ विकेट गुमाएर ११६ रन बनाएको थियो। अबुधाबीको लागि ओपनर पल स्टरलिंगले सर्वाधिक अविजित ६४ रन बनाए जुन क्रममा ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। लुक राइटले २७ र जेमी ओभरटनले १२ रन बनाए। बांग्लाको बलिंगमा माथिषा पथिरानाले २ विकेट तथा जर्ज गार्टनले १ विकेट लिए।

खेलको ‘प्लेयर अफ द म्याच’ पल स्टरलिंग घोषित भए।

नेपाली खेलाडी कुशल मल्ललाई भने टिम अबुधाबीले हालसम्म अन्तिम-११ मा मौका दिएको छैन।

टिम अबुधाबी अंकतालिकामा ६ खेलमा ३ जित र ३ हार पछि चौथो स्थानमा रह्यो।  दिल्ली बुल्स, नर्दर्न वारियर्स र कलन्दर्स समान १० अंक हात पर्दै नेट रन रेटमा क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहँदै प्लेअफ पुग्न सफल रह्यो।

लिग अन्तर्गत शुक्रबार देखि प्लेअफ चरणको खेल सुरु हुनेछ। आज ५:४५ बजे बेलुका पहिलो क्वालिफायरमा दिल्ली बुल्स र नर्दर्न वारियर्सले प्रतिस्पर्धा गर्नेछन् जुन खेल जित्ने टिम सोझै फाइनल पुग्नेछ। यस्तै आजै ८ बजे राती पहिलो इलिमीनेटरमा टिम अबुधाबी र कलन्दर्स प्रतिस्पर्धा गर्नेछन्। आजै १०:४५ बजे राति दोश्रो इलिमीनेटर हुनेछ जसमा पहिलो क्वालिफायरमा पराजित हुने टिम र पहिलो इलिमीनेटरमा विजयी हुने टिम बीच प्रतिस्पर्धा हुनेछ।

लिगको फाइनल र तेश्रो स्थानको लागि खेल शनिवार खेलिनेछ।

अन्य नेपाली खेलाडी सोमपाल कामि आवद्ध टिम मराठा अरबियन्स र कर केसी आवद्ध टिम पुने डेभिल्स भने प्लेअफ चरण पुग्न असफल रह्यो।

यो पनि पढ्नुस :-

टि-१० : सोमपालको शानदार प्रदर्शनका बाबजुद पराजित हुँदै मराठा बाहिरियो

ओमान सिरिजको लागि प्रारम्भिक राष्ट्रिय क्रिकेट टिमको घोषणा, अर्जुन कुमाल पनि टिममा

२०७७ माघ २३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment