यी हुन् आईपीएल अक्सनमा दर्ता भएका ८ नेपाली खेलाडी, पारस र ज्ञानेन्द्रले गरेनन् दर्ता

नेपाल क्रिकेट संघ ( क्यान ) ले इण्डियन प्रिमियर लिग ( आईपीएल ) को यही फेब्रुअरी १८ तारिखमा आयोजना हुने मिनी अक्सनको लागि ८ जना नेपाली खेलाडीको नाम पठाएको बताएको छ।

क्यानले प्रेस बिज्ञप्ति जारि गर्दै सन्दिप लामिछाने सहित बिनोद भण्डारी, करन केसी, सोमपाल कामि, कुशल मल्ल, शरद भेसावकर, अविनाश बोहरा र दिपेन्द्र ऐरीलाई अक्सनको लागि पठाएको हो।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले खेलनेपाललाई बताए अनुसार एसोसिएट कोटामा खेलाडी समाबेश गर्न आईपीएलसंग क्यानले समन्वय गरेको थियो। त्यस अनुसार क्यानले नेपालबाट १० जना खेलाडीहरुको नाम सिफारिस गरेको थियो। १० जना मध्ये राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले भने दर्ता गर्नको लागि फर्म नभरेको चन्दले खेलनेपाललाई जानकारी गराए।

पहिलो पटक आईपीएल अक्सनमा १ भन्दा धेरै नेपाली खेलाडीको नाम दर्ता भएको हो। सन्दिप लामिछाने बाहेक यस अघि अन्य खेलाडीको नाम आईपीएल अक्सनमा दर्ता भएको थिएन। आईपीएलको अधिकारिक वेबसाइटले ८ नेपाली खेलाडी दर्ता भएको प्रेस बिज्ञप्ति जारि गर्दै शुक्रबार जानकारी दएको छ। नेपालका ८ जना सहित एसोसिएट राष्ट्रबाट कुल २७ जना खेलाडीहरुले नाम दर्ता गराएका छन् त्यस मध्ये नेदरल्याण्डबाट १ जना, स्कटल्याण्डबाट ७ जना, युएईबाट ९ जना, अमेरिकाबाट २ जना रहेका छन्।

यस अघि ३ सिजन दिल्ली क्यापिटल्ससंग आवद्ध रहेका लेग स्पिनर सन्दिप लामिछाने पनि यो पटक दिल्लीले फुकुवा गरेपछि अक्सनमा सहभागी हुनेछन्। उनलाई २०१८ को अक्सनमा २० लाख भारुमा दिल्लीले किनेको थियो।

क्यानले यस अघि गत सिजनको पाकिस्तान सुपर लिगको ड्राफ्टको लागि पनि ८ जना नेपाली खेलाडीको नाम पठाएको थियो। सन्दिप लामिछाने सहित पारस खड्का, बिनोद भण्डारी, शरद भेसावकर, रोहित पौडेल, सोमपाल कामि, दिपेन्द्र ऐरी र आरिफ शेख उक्त ड्राफ्टमा रहेका थिए।

अक्सनको लागि दर्ता भएका सबै खेलाडीहरुको नाम अक्सनमा भने आउने छैन। अक्सनमा सहभागी टिमहरुको रुची अनुसारका खेलाडीहरु मात्र अक्सनमा बोलकबोलको लागि प्रस्तुत हुनेछन्।

सन्दिप लामिछाने पछि हालसम्म पारस खड्का, सोमपाल कामि, करन केसी र कुशल मल्ल विदेशी लिग खेल्न छनोट भएका छन्। सोमपाल ग्लोबल टि-२० लिग क्यानडा र टि-१० लिग खेलेका छन् भने पारस, करन र कुशल टि-१० लिगमा छानिएका छन्।

आइपिएल अक्सनमा ६१ खेलाडीहरु बिक्रि हुनेछन्। एक टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ जसमध्ये एउटा टिमले सर्वाधिक ८ जना विदेशी खेलाडी टिममा आवद्ध गर्न पाउने प्रावधान रहेको छ।

टेष्ट टोलीबाट वेस्टइन्डिजबाट सर्वाधिक ५६ खेलाडी छन् । अफगानिस्तानबाट ३०, अष्ट्रेलियाबाट ४२, बंगलादेशबाट ५, इंग्ल्यान्डबाट २१, आयरल्यान्डबाट २, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१ र वेस्टइन्डिजबाट ५६ खेलाडी छन् ।

२०७७ माघ २३, शुक्रबार मा प्रकाशित