“राम्रो प्रशिक्षण पाए क्रिकेट खेल्न सक्ने रहेछु” फुटबलर अनिल गुरुङ

गृष्मा ब्रोडकास्टिंगद्वारा आयोजित गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको नमुना मैदानमा गत साता शनिबार सम्पन्न ‘स्टार कप २०७७’ को फाइनल खेलमा सुन्तली ‘ए’ ले धुर्मुस ‘ए’ लाई १ रनले पराजित गर्दै उपाधि जित्यो। निर्माणाधीन गौतम बुद्ध रंगशालाको सहयोगको लागि खेलिएको सहयोगार्थ खेलमा राष्ट्रिय खेलाडी तथा राष्ट्रिय कलाकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न विधाका ख्याती प्राप्त व्यक्तित्वको सहभागिताले प्रतियोगिता रोचक बनेको थियो।

पुर्व राष्ट्रिय फुटबलर अनिल गुरुङले प्रतियोगितामा विजयी टोलि सुन्तली ‘ए’ को प्रतिनिधित्व गरेका थिए। पुर्व राष्ट्रिय टोलीका  स्ट्राइकर तथा कप्तान समेत रहेका अनिल क्रिकेट खेल्दा मैदानमा निकै हर्षित देखिन्थे। बलिंग, ब्याटिंग र फिल्डिंग सबै पक्षमा फुर्तिलो देखिएका अनिलले ‘उत्कृष्ट फिल्डर’ को उपाधि समेत जिते।

खेल समाप्त भए पश्चात् खेलनेपालसँग कुरा गर्ने क्रममा उनले यो पहिलो पटक क्रिकेट मैदानमा क्रिकेट खेलेका बताए- “यसअघि क्रिकेट खेलेता पनि मैले मैदानमै आएर यसरि खेलेको भने पहिलो पटक हो। क्रिकेट खेलेर निकै खुशी लाग्यो।”, उनले आफ्नो खुशी व्यक्त गरे।

फोटो – अनिल गुरुङको फेसबुक

खेल सकिएपछि अनिलले लामो समय आफ्ना समर्थकहरुसँग बिताएका थिए। फ्यान फेबरेट अनिलसँग फोटो खिच्न धेरै समर्थकहरुको घुंइचो लागेको थियो। त्यसबीच अनिलले हाँस्दै मैले कस्तो खेले भनेर समेत समर्थकहरुलाई सोधे। अनिलले क्रिकेट र फुटबलबीचको अन्तर समेत औल्याए-

“क्रिकेट र फुटबलमा ठुलो अन्तर हुने रहेछ। फुटबलमा जस्तो क्रिकेटमा खेल अबधिभर समान गतिमा खेल्नु पर्ने रहेनछ। फिल्डिंगमा आफुलाई दिइएको क्षेत्र कुनै हालतमा पनि रक्षा गरे पुग्दो रहेछ। राम्रो क्रिकेट प्रशिक्षण पाए मैले पनि क्रिकेट खेल्न सक्ने रहेछु। हामि खेलाडी भएर कुनै पनि खेल छिट्टै सिक्न सक्छौं। जे होस् यसरि क्रिकेट खेलेर अत्यन्तै रमाइलो लाग्यो”, उनले हाँसो साथ भने।

उनले आफ्नो आगामी भविष्यको बारेमा समेत बताएका थिए। भविष्यमा फुटबल गतिविधिसँग जोडिनु हुन्छ या हुदैन भनेर प्रश्न गर्दा उनले आफ्नो रुची समेत सुनाए। “मलाई फुटबल गतिविधिमा जोडिन खासै मन छैन। प्रशिक्षक बन्ने पनि सोच छैन। आफ्नो करिअरमा जति राम्रो खेलाडी बने पनि त्यो खेलाडी राम्रो प्रशिक्षक बन्न सक्छ भन्ने हुदैन। मलाई भविष्यमा आफ्नै मैदान बनाएर सानो बालबालिकाहरुलाई फुटबल खेल्ने अवसर मिलाउँन मन छ।”, उनले बताए

अनिलको फुटबल करिअर 

पोखराका अनिलले १३ वर्षको उमेरबाट फुटबल खेल्न सुरु गरेका थिए। २००१ मा साहारा क्लबबाट फुटबलमा सुरुवात गरेका अनिलले त्यसपछि पछाडी फर्केर हेर्नु परेन। परिवारबाट सहयोग नमिलेता पनि अनिलले विभिन्न अवरोधहरुलाई उछिन्दै फुटबलमै लागे।

अनिलले २००७ मा मस्कटमा ओमानविरुद्ध खेलिएको विश्व कप छनोट खेलबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरे। उक्त खेल भने नेपालले २-० गोल अन्तरले पराजित भएको थियो। उनि विश्वकप छनोट चरणमा घरेलु मैदानमा गोल गर्ने पहिलो नेपाली खेलाडी समेत हुन्। उनले राष्ट्रिय टोलीबाट ५० अन्तराष्ट्रिय खेल खेल्दा ९ गोल गरेका छन्। अनिलले २०१३ मा भारतविरुद्ध साफ च्याम्पियनसिपमा नेपालले २-१ को एतिहासिक जित निकाल्दा गरेको गोल हालै पनि प्रतिबिम्बित हुन्छ। उनले सन् २०१८ मा एशियन छनोट चरणमा फिलिपिन्सविरुद्धको खेलबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।

२०७७ माघ ३०, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment