राष्ट्रिय महिला लिग : पुलिसको लगातार दोश्रो हार

स्याङ्गजाको वालिङ्ग नगरपालिकाले राष्ट्रिय महिला लिगमा नेपाल पुलिसलाई हराएको छ । वालिङ्गले नेपाल पुलिसमाथि १–० को जित हात पारेको हो ।

राष्ट्रिय महिला लिग अन्तगर्तको दोस्रो चरणको तेस्रो खेलमा अफ्रिकी खेलाडी मेथो एलुडाइ रुथले गर्नुभएको एक मात्र गोल वालिङ्गलाई पुलिसमाथि जित दिलाउन पर्याप्त भयो । नेपाल पुलिसको यो लगातार दोस्रो हार हो । यसअघि पुलिस बिराटनगरबाट पराजित हुन पुगेको थियो ।

पुलिसमाथि जितसँगै वालिङ्ग अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । उसले सात खेलबाट ११ अङ्क बटुलेको हो । चौथो स्थानमा रहेको बिराटनगर महानगरपालिकाको १० अङ्क छ । नेपाल पुलिस भने सात खेलबाट आठ अङ्क ल्याएर पाँचौं स्थानमा झरेको छ ।

२०७७ माघ २५, आईतवार मा प्रकाशित