शुरु भयो टाइगर कप भलिवल

पोखरामा राष्ट्रियस्तरको ‘टाइगर कप राष्ट्रिय महिला तथा पुरुष आमन्त्रित भलिबल’ प्रतियोगिता शुरु भएको छ । पोखरा रङ्गशाला स्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको पहिलोदिनको खेलमा महिलातर्फ नेपाल पुुलिस क्लब र न्यू डाइमण्ड तथा पुरुषतर्फ नेपाल पुलिस क्लब विजयी भएको छ ।

नेपाल पुुलिस क्लबले सोझो सेटमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको हो । पुलिसले सशस्त्रलाई २६–२४,२५–२२,२५–११ अङ्कले पराजित गरेको हो । यसैगरी न्यू डाइमण्डले २५–१३,२२–२५,१८–२५,२७–२५ र १५–१३ अङ्क सहित ३–२ को सेटमा त्रिभुवन आर्मी माथि जीत हासिल गरेको छ ।

पुरुषतर्फका प्रतिष्पर्धामा गण्डकी प्रदेशलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गर्न सफल भयो । पुलिस क्लबले २७–२५,२१–२५ र २५–२२ अङ्कले गण्डकीलाई पराजित गरेको हो ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्ने टाइइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिएका छन ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०–२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिएका छन ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई खेलकूदको हब बनाउने लक्ष्य अनुसार सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए । नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै उनले प्राकृतिक र साहसिक पर्यटनको गन्तव्य गण्डकी प्रदेशमा खेल पूर्वाधार निर्माण गरी खेलाडी उत्पादन गर्ने काममा प्रदेश सरकारले योजना बनाइरहेको उनको भनाई थियो ।

प्रदेश सरकारले बजेट कार्यक्रममा उल्लेख गरेको अन्तर्राष्ट्रिस्तरको बहुउद्धेश्शीय रङ्गशाला बनाउनका लागि जमिन खोजी गरेपनि उपयुक्त जमिन नपाउँदा प्रक्रिया अघि बढ्न नसकेको मुख्यमन्त्री गुरुङले बताए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले सबैको साथ र सहयोगबाट १३ औँ दक्षिण एशियाली खेलकूदका आठ खेल पोखरामा भव्यताका साथ सम्पन्न भएकाले आगामी नवौँ राष्ट्रिय खेलकूदका लागि पनि सहयोग आवश्यक रहेको बताए । नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबल खेल विकासमा राज्यको लगानी नभएको भन्दै आधारभूत खेल संरचना निर्माणमा ध्यान दिन आग्रह गरे ।

प्रतियोगिताका प्रचार प्रसार संयोजक रामकृष्ण ज्ञवालीले नेपालको राष्ट्रिय भलिबल टोलीमा गण्डकी प्रदेशबाट प्रभाव रहेपनि पछिल्लो समय नयाँ खेलाडी उत्पादन हुन नसकेकोतर्फ चिन्ता व्यक्त गर्दै प्रदेश र स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

उद्घाटन कनर्यक्रम टाइगर ग्रुप अफ पोखरा, नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।
तस्विरः सुदर्शन रञ्जित

२०७७ माघ २७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment