राष्ट्रिय महिला लिग फुटबल : वालिङ् विजयी

वालिङ् नगरपालिकाले चौदण्डीगढीमाथि ७–१ को जित हात पारेको छ। राष्ट्रिय महिला लिग अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा वालिङ्ले चौदण्डीगढीमाथि जित हात पारेको हो।

वालिङको जितमा सबै गोल अफ्रिकी खेलाडी एलुडी रुथ र ओर्नेल इभानिकले गरिन्। मेथो एलुडी रुथले वालिङ्गका लागि पाँच गोल गरिन्। ओर्नेल इभानिकले दुई गोल गरिन्। अञ्जना थुलुङ्गले चौदण्डीगढीका लागि एक गोल फर्काए पनि उक्त गोल सान्त्वना मात्रै रहन गयो।

मेथोले पहिलो हाफको २५ औं मिनेटमा गोल गरेर वालिङ्का लागि सुरुवाती गोल गरिन्। थुलुङ्गले ३२ औं मिनेटमा गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याइन् । चौदण्डीगढीले बराबरी दुई मिनेट समेत जोगाउन सकेन । मेथोले गोल थप्दै वालिङ्लाई २–१ को अग्रता दिलाइन् । मेथोले ४४ औं मिनेटमा गोल गर्दै आफ्नो हयाट्रिक गोल पूरा गरिन्।

दोस्रो हाफको तेस्रो मिनेटमा मेथोले आफ्नो चौथो गोल पूरा गरिन् । ५५ औं मिनेटमा उनले पाँचौं गोल पुरा गरिन् । ओर्नेलले ७१ औं मिनेटमा गोल गर्दै वालिङ्लाई ६–१ को स्थितिमा पुर्याउनुभयो । ७२ औं मिनेटमा उहाँले थप एक गोल गर्दै वालिङ्को चौदण्डीगढीमाथि ७–१ को जित सुनिश्चित गर्नुभयो ।

चौदण्डीगढीमाथि जितसँगै वालिङ् तेस्रो स्थानमा उक्लेको छ । प्रतियोगितामा आफ्नो दोस्रो गोल मात्रै पूरा गरेको चौदण्डीगढीले भने अङ्कतालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

२०७७ माघ २९, बिहीबार मा प्रकाशित