दक्षिण अफ्रिकालाई ३ रनले हराउदै पाकिस्तानद्वारा शृंखलामा अग्रता

३ खेलको टि-ट्वान्टी अन्तराष्ट्रिय शृंखला अन्तर्गत बिहिबार सम्पन्न पहिलो खेलमा घरेलु टोलि पाकिस्तानले दक्षिण अफ्रिकामाथि ३ रनको रोमान्चक जित दर्ता गर्दै सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। सिरिज अन्तर्गत दोस्रो खेल शनिबार तथा तेस्रो खेल आइतबार खेलिनेछ।

लाहोर स्थित गद्दाफी स्टेडियममा सम्पन्न खेलमा १७० रनको लक्ष्य पछ्याएको भ्रमण टोलि दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १६६ रन बनाउँन सक्यो। आक्रामक सुरुवात बाबजुद अन्तिमका ओभरमा दक्षिण अफ्रिकाले लय गुमाउँदा खेलमा हार बेहोर्नु परेको थियो।

अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई जितका लागि १९ रनको आवश्यकता रहेको थियो। फहीम अशरफले पहिलो र दोस्रो बलमा मात्र २ रन खर्चिए। त्यसपछि तेस्रो बलमा ब्यॉर्न फॉर्टुइनले छक्का प्रहार गर्दै दक्षिण अफ्रिकालाई खेलमा जीवित राखे। फहीमले चौथौं बलमा मात्र १ रन खर्चिदा दक्षिण अफ्रिकालाई अन्तिम २ बलमा ११ रनको खाँचो रह्यो। पाचौं बलमा फॉर्टुइनले चौका हिर्काए। त्यसपछि अन्तिम बलमा जितका लागि ६ रनको खाँचो रहँद फॉर्टुइनले मिड विकेटमा फ्लिक गर्दै मात्र २ रन बटुल्न सके।

जनमन मालन र रिजा हेन्ड्रिक्सले पहिलो विकेटको लागि ५३ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई आक्रामक सुरुवात दिलाए। २९ बलमा ८ चौका र १ छक्काको मद्धतमा ४४ रनको पारि खेलेका मलानलाई उस्मान कादिरले बोल्ड आउट गरेसंगै पाकिस्तानका बलरहरु खेलमा हावी भए। त्यसपछि दक्षिण अफ्रिकाले डेब्युटन्ट जैक्स सिम्रनलाई २ तथा भेट्रान ब्याट्सम्यान डेविड मिलरलाई ६ रनमा गुमायो। कप्तान हेनरिक क्लासेनलाई (१२) हरिस रउफले हुसैन तलतबाट क्याच आउट गराएसंगै दक्षिण अफ्रिका समस्यामा पर्यो।

४२ बलमा ८ चौकाको मद्धतमा ५४ रन बनाउँदै दक्षिण अफ्रिकाको इनिंग्स सम्हालेका रिजा हेन्ड्रिक्सलाई विकेटकिपर मुहम्मद रिजवानले रन आउट गराए। उनको विकेटसंगै पाकिस्तान खेलमा फर्किएको थियो। ८ बलमा समान १ चौका र १ छक्काको मद्धतमा १४ रन बनाउँदै आक्रामक ब्याटिंग गरेका एंडिले फेलुकवायोलाई हरिस राउफले आफ्नो दोस्रो सिकार बनाए। अन्तिममा ड्वेन प्रिटोरियस (१५) र ब्यॉर्न फॉर्टुइन (१७) सातौँ विकेटको लागि अविजित २७ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको झिनो जितको आश कायम राखेता थिए। तर पाकिस्तानका बलरहरुले डेथ ओभरमा उत्कृष्ट बलिंग गर्दा दक्षिण अफ्रिका खेलमा ३ रनले पराजित भयो।

पाकिस्तानको बलिंगतर्फ उस्मान कादिर (४-०-२१-२) र हरिस राउफले (४-०-४४-२) समान २ तथा फहीम अशरफले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो। उसको लागि ओपनर ब्याट्सम्यान मुहम्मद रिजवानले ६४ बलमा ६ चौका र ७ छक्काको मद्धतमा अविजित १०४ रनको शतकीय पारि खेलेका थिए। योसंगै उनि तिन वटै ढाँचाको खेलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्।

खराब सुरुवात गरेको पाकिस्तानले कप्तान बाबर आजमलाई खाता नखोली रन आउटको रुपमा गुमायो। आजमले १ रन लिन खोज्दा ब्यॉर्न फॉर्टुइनले आफ्नै बलिंगमा मिड विकेट क्षेत्रबाट डाइरेक्ट थ्रो गर्दै उनलाई रन आउट गराएका थिए। त्यसपछि अर्का ओपनर मुहम्मद रिजवानले हैदर अलीसँग दोस्रो विकेटको लागि ३६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिंग्स सम्हाले। सुस्त सुरुवात गरेको पाकिस्तानले दोस्रो विकेटको रुपमा अलीलाई २१ रनको व्यक्तिगत स्कोरमा गुमायो। उनलाई एंडिले फेलुकवायोले जैक्स स्नीमनबाट क्याच आउट गराएका थिए।

पाकिस्तानले एक किनारबाट निरन्तर रुपमा विकेट गुमाएता पनि रिजवानले जिम्मेवारीपूर्वक ब्याटिंग गर्दै अर्को किनार सम्हालेका थिए। हुसैन तलत १५, इफ्तिकार अहमद ४, खुशदिल शाह १२ तथा फहीम अशरफ ४ रनको व्यक्तिगत स्कोरमा आउट भएता पनि रिजवानले शतकीय पारि खेल्दै पाकिस्तानलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए।

दक्षिण अफ्रिकाको बलिंगमा एंडिले फेलुकवायोले ४ ओभरमा ३३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए। ब्यॉर्न फॉर्टुइन (३-०-२५-१), लुथो सिपामला (४-०-३७-१) र तबरेज शम्सीले (४-०-२२-१) समान १ विकेट हात पारे।

यसअघि दक्षिण अफ्रिका र पाकिस्तानबीच २ खेलको टेस्ट शृंखलामा घरेलु टोलि पाकिस्तानले क्लिन स्विप गरेको थियो। पाकिस्तान पहिलो टेस्टमा ७ विकेट तथा दोस्रोमा ९५ रनले विजयी भएको थियो।

२०७७ माघ २९, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment