इंग्ल्याण्डको टि-ट्वान्टी टोलीमा लियाम लिभिङ्गस्टोनको कमब्याक, परेनन् एलेक्स हेल्स

भारतविरुद्धको टि-ट्वान्टी शृंखलाका लागि इंग्ल्याण्डले १६ सदस्यीय टोलिको घोषणा गरेको छ। इंग्ल्याण्डको टोलीमा अल-राउण्डर लियाम लिभिङ्गस्टोनले कमब्याक गरेका छन् भने एलेक्स हेल्स र जोए रूट टिममा अटाएका छैनन्। इंग्ल्याण्डले मार्चमा घरेलु टोलि भारतसँग पाँच खेलको टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।

नियमित कप्तान इयोन मोर्गनले टिमको कप्तानी सम्हाल्ने छन्। टिममा जोनी बेयरस्टो, साम बिलिंग्स, जोस बट्लर, डेविड मालन, जेसन रोय र लिभिङ्गस्टोन जस्ता विस्फोटक ब्याट्सम्यान रहेका छन्। ओपनिंगमा बेयरस्टो, रोय र लिभिङ्गस्टोनको विकल्प रहेको छ। १ नम्बरमा टि-ट्वान्टी अन्तराष्ट्रिय बरियताको शिर्ष स्थानमा रहेका मालनले ब्याटिंग गर्न सक्छन् भने कप्तान मोर्गनसँगै, बट्लर र बिलिंग्सले मिडल अर्डर सम्हाल्न सक्छन्।

टिमसँग अल-राउण्डरको रुपमा मोईन अली, साम करन, बेन स्टोक्स र टम करन रहेका छन्। टिममा प्रमुख स्पिनरको रुपमा लेग-स्पिनर आदिल रशिद रहेका छन्। यस्तै फास्ट बलिंग पक्षमा जोफ्रा आर्चर, क्रिस जोर्डन, मार्क वुड जस्ता घातक बलरहरु रहेका छन्।

इंग्ल्याण्डको १६ सदस्यीय टोलि : इयोन मोर्गन (कप्तान), जोनी बेयरस्टो, साम बिलिंग्स, जोस बट्लर, डेविड मालन, जेसन रोय, लियाम लिभिङ्गस्टोन, मोईन अली, साम करन, बेन स्टोक्स, टम करन, आदिल रशिद, जोफ्रा आर्चर, क्रिस जोर्डन, मार्क वुड, रीस टॉपली

यस्तै टिममा २ जना रिजर्भ खेलाडीको रुपमा जेक बॉल र मॅट पॅटिन्सन रहेका छन्।

टिममा लियाम लिभिङ्गस्टोनको कमब्याक, परेनन् एलेक्स हेल्स 

२७ वर्षीय ब्याटिंग अल-राउण्डर लियाम लिभिङ्गस्टोनले टि-ट्वान्टी टिममा पुनरागमन गरेका छन्। उनले इंग्ल्याण्डको लागि पछिल्लो पटक २०१७ जुनमा टि-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका थिए। दक्षिण अफ्रिकासँगको सिरिजका लागि एकदिवसीय टिममा रहेका उनले अष्ट्रेलियामा सम्पन्न बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गर्दै टिममा आफ्नो स्थान बनाएका हुन्। उक्त दक्षिण अफ्रिकासँगको एकदिवसीय सिरिज भने कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो। उनले बिग ब्यासमा उपिजेता टोलि पर्थ स्कर्चर्सको प्रतिनिधित्व गर्दै १४ खेलमा ३०.४२ को औसतमा ४२६ रन बनाएका थिए। उनी प्रतियोगिताको सातौँ सर्वाधिक रन बनाउँने खेलाडी थिए भने बलिंगमा ५ विकेट समेत लिएका थिए।

यस्तै, बिग ब्यास लिगको सर्वाधिक रनकर्ता एलेक्स हेल्स भने टोलीमा परेका छैनन्। आक्रामक ओपनिंग ब्याट्सम्यान हेल्सलाई २०१९ एकदिवसीय विश्व कप अगाडी लागु पदार्थको कारण इंग्ल्याण्डको टोलीबाट हटाइएको थियो।त्यसपछि उनेल इंग्ल्याण्ड टिममा स्थान पाएका छैनन्। हेल्सले बिग ब्यासमा १५ खेलमा १६१.६० को स्ट्राइक रेट तथा ३८.७८ को औसतमा सर्वाधिक ५४३ रन बनाउँदै सबैको ध्यानाकर्षण गराएका थिए। प्रतियोगितामा १ शतक बनाएका हेल्स सर्वाधिक छक्का प्रहार गर्ने सुचिमा निकोलास पुरनसँगै शिर्ष स्थानमा थिए। विस्फोटक ओपनिंग ब्याट्सम्यान हेल्सको इंग्ल्याण्ड टिममा आफ्नो कमब्याकको पर्खाइ थप लम्बिएको छ।

सिरिज अन्तर्गतका खेलहरु :-

पहिलो टि-ट्वान्टी : मार्च १२ (शुक्रबार) सरदार पटेल स्टेडियम, अहमदाबाद

दोस्रो टि-ट्वान्टी : मार्च १४ (आइतबार) सरदार पटेल स्टेडियम, अहमदाबाद

तेस्रो टि-ट्वान्टी : मार्च १६ (मंगलबार) सरदार पटेल स्टेडियम, अहमदाबाद

चौथौं टि-ट्वान्टी : मार्च १८ (बिहिबार) सरदार पटेल स्टेडियम, अहमदाबाद

पाचौं टि-ट्वान्टी : मार्च २० (शनिबार) सरदार पटेल स्टेडियम, अहमदाबाद

हाल इंग्ल्याण्डको भारत भ्रमण अन्तर्गत ४ खेलको टेस्ट सिरिज जारि छ। सोमबार सम्पन्न पहिलो टेस्टमा भारतले २२७ रनको फराकिलो जित निकाल्दै सिरिजमा अग्रता लिएको छ। दोस्रो टेस्ट फेब्रुअरी १३, तेस्रो टेस्ट फेब्रुअरी २४ तथा चौथौं टेस्ट (अन्तिम) मार्च ४ मा खेलिनेछ। त्यसपछि ५ खेलको टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिनेछ जसपछि ३ खेलको एकदिवसीय सिरिज खेलिने तालिका रहेको छ।

इंग्ल्याण्डले आगामी टि-ट्वान्टी अन्तराष्ट्रिय विश्व कपलाई मध्यनजर गर्दै टोलि घोषणा गरेको छ। सबै टोलीहरु विश्व कप अगावै आफ्नो सुहाउँदो टिम तयार पार्न चाहन्छ। आगामी टि-ट्वान्टी अन्तराष्ट्रिय विश्व कप अक्टोबर-नोभेम्बर बीच भारतमा आयोजना हुदैछ।

२०७७ फाल्गुन १, शनिबार मा प्रकाशित