रोहितको शतकले भारत बलियो

रोहित शर्माले उत्कृस्ट ब्याटिंग गर्दा चेन्नाईमा सुरु भएको इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गतको पहिलो दिनको समाप्तिमा घरेलु टिम बलियो स्थितिमा रहेको छ।

स्पिनरलाई निकै मद्दत गरिरहेको पिचमा भारतले दिनको समाप्तिमा ८८ ओभरमा ६ विकेट गुमाएर ३०० रन बनाएको छ।

ओपनर शुबमन ग्ललाई ओली स्टोनले खाता नखोली पेभेलियन फर्काएपछि दोश्रो विकेटको लागि रोहितले चेतेश्वर पुजारासंग ८५ रनको साझेदारी गरे। तर पुजारा र कप्तान कोहलीले लगातार ओभरमा विकेट गुमाउन पुग्दा भारत दबाबमा आएको थियो। २१ रन बनाएका पुजारालाई ज्याक लिचले स्टोक्सबाट क्याच आउट गराए भने कोहली खाता नखोली मोईन अलिबाट बोल्ड भए।

रोहितले चौथो विकेटको लागि अजिंके रहानेसंग १६२ रनको साझेदारी गर्दै भारतलाई बलियो स्थितिमा पुर्याए। रोहितलाई ज्याक लिचले ७३ औं ओभरमा क्याच आउट गराए। त्यस अघि रोहितले २३१ बलमा १८ चौका र २ छक्का मद्दतले १६१ रन बनाए। टेस्ट करियरमा रोहितको यो चौथो १५० माथिको स्कोर हो भने सातौँ शतक हो। १३० बलमा रोहितले शतक पुरा गरेका थिए।

रोहितको विकेट पछि अजिंके रहानेलाई ७६ औं ओभरमा मोईन अलिले बोल्ड गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए। रहानेले १४९ बलमा ९ चौका मद्दतले ६७ रन बनाए।

त्यसपछि रिशभ पन्तले एक किनार सम्हाले जुन क्रममा छैठौं विकेटको लागि रभीचन्द्रन आश्विनसंग ३५ रनको तथा अक्षर पटेलसंग सातौं विकेटको लागि अविजित १६ रनको साझेदारी गरेका छन्।

दिनको समाप्तिमा रिशभ पन्त ३३ रन तथा पहिलो टेस्ट खेलीरहेका अक्षर पटेल ५ रन बनाएर क्रिजमा छन्।

इंग्ल्यान्डको बलिंगमा अफ स्पिनर मोईन अलि ( २६-३-११२-२ ) र देब्रे हाते स्पिनर ज्याक लिचले ( २६-२-७८-२ ) समान २ विकेट लिएका छन्। ओली स्टोन ( १५-५-४२-१ ) र जोए रुटले ( ८-२-१५-१ ) ले समान १ विकेट लिएका छन्।

सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ। पहिलो टेस्टमा इंग्ल्यान्ड २२७ रनले विजयी भएको थियो। दुई टिम बीच ४ वटा टेस्ट म्याचको सिरिज पछि ५ वटा टि-२० अन्तर्राष्ट्रिय र ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्ने तालिका रहेको छ।

२०७७ फाल्गुन १, शनिबार मा प्रकाशित