टाइगर कप भलिबल : गण्डकीलाई उपाधि

‘नपत्याउने खोलाले वगायो’ साँच्चीनै त्यस्तै भयो । टाइगर ग्रुप अफ नेपाल पोखराले पहिलो पटक आयोजना आयोजना गरेको “प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिप”को पुरुषतर्फको उपाधी भिडन्तमा गण्डकी प्रदेशले विभागिय सेट टिम आर्मीलाई हरायो ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा फाइनल स्पर्धा हेर्न हजारौं दर्शकले खचाखच भरिएको मैदानमा आयोजक गण्डकीले आर्मीलाई ३–२ को सेटमा पराजित गरेको हो । दर्शकको राम्रो साथ पाएको गण्डकीले निकै प्रतिस्पर्धात्मक फाइनलमा पहिलो, तेस्रो र पाँचौं सेटमा गण्डकीले जित निकाल्दै अन्तर्राष्ट्रिय खेलको अनुभव बोकेको आर्मीका खेलाडीलाई हारको स्वाद चखाए ।

खेलको पहिलो सेटमा गण्डकीले आर्मीलाई २५–२२, दोस्रो सेटमा आर्मीले गण्डकीलाई २५–२१, तेस्रो सेटमा गण्डकीले आर्मीलाई ३२–३० ले, चौथो सेटमा आर्मीले गण्डकीलाई २५–२३ ले हराएपछि फाइनल थप रोमान्चक बन्न पुगेको थियो । तर अन्तिम सेटमा गण्डकी खेलमा फर्किदैें आर्मीलाई १५– ११ ले हराउँदै उपाधि जितेको हो ।

उपाधी विजेता गण्डकीले उपाधिसहित १ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता आर्मीले ७५ हजार प्राप्त गरको छ ।

यसै गरी आज नै सम्पन्न महिला तर्फको फाइनल खेलमा विभागिय टोली पुलिस क्लवले अर्को विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई पराजित गरेको छ । उपाधी भिडन्तमा पुलिसले एपिफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले पहिलो सेटमा एपिएफलाई २५–२२ ले दोस्रो सेटमा २५–२२ ले र तेस्रो सेटमा २५–२१ ले हराउँदै उपाधि जितेको हो । विजेता पुलिसले उपाधिसहित १ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता एपिएफले ७५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा महिला तर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुष तर्फ घनश्याम चौधरी सर्वोत्कृष्ट हुँदै नगद २०–२० हजारका साथम पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा महिलातर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपिएफकै हिरा केसी उत्कृष्ट व्लकर, न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, प्रहरीकी कमला पुन उत्कृष्ट सेटर, प्रहरीकै शान्तीकला तामाङ र महिलातर्फको टिमको उत्कृष्ट प्रशिक्षकमा पुलिसका रुपेश विष्ट घोषित हुँदै सवै उत्कृष्ट हुनेहरुले समान नगद ५–५ हजार प्राप्त गरेका छन ।

त्यस्तै पुरुषतर्फ उत्कृष्ट डिफेण्डरमा गण्डकीका राजन दर्लामी मगर भए भने उत्कृष्ट व्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकरमा आर्मीका खेलाडीहरु क्रमश हरि अधिकारी, शरण सामारिक श्रेष्ठ, र धन बहादुर भट्ट घोषित हुँदै समान नगद ५–५ हजार प्राप्त गरेका छन ।

कार्यक्रममा नेपालको राष्ट्रिय खेल भलिवलमा उच्च योगदान पुर्याएको भन्दै नेपाल टिमकी पूर्व उपकप्तान मञ्जु गुरुङ र पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्साललाई सम्मान गरिएको थियो ।

विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल लगाएतले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा, नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने संस्थाहरुलाई प्रतियोगिताका संयोजक नविन गुरुङले प्रंशसा पत्र प्रदान गरेका थिए ।

( साभार – पोखरास्पोर्ट्स )

२०७७ फाल्गुन १, शनिबार मा प्रकाशित