रुपन्देही सुपरलिग : सैनामैना डिभिजन एमा

प्रकाश न्यौपाने भैरहवा, फागुन २

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतरबार भएको डिभिजन (बी)को खेलमा सैनामैना क्रिकेट क्लबले प्रोफेसनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गरेको छ । जितसँगै सैनामैना डिभिजन (ए)मा प्रवेश गरेको छ। सैनामैना क्रिकेट क्लब समुह ‘डी’ बाट डिभिजन (ए)मा प्रवेश गरेको हो।

टस जितेर ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४३ ओभरको खेलमा २९.२ ओभरमा अलआउट हुँदै ९१ रन मात्रै बनायो । उसका लागि सुजन मकाजुले २८ र अमर रसाइलीले २४ रन बनाए । बलिङका सैनामैनाका उदय पन्तले ९ ओभरमा १ मेर्डन राख्दै २५ रन खर्चेर ५ विकेट लिए । यस्तै, विशाल भुसालले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैनाले १९ ओभर ४ बलमा ३ विकेट क्षतिमा ९२ रन बनाउँदै लक्ष्य भेट्टायो । उसका लागि सरोज पौडेलले नटआउट ४१, अंकीत परियारले १६ रन बनाए । बलिङमा प्रोफेसनलका अनिल जैसवारले २ र जितेन्द्र साहनीकाले १ विकेट लिए ।

उदय पन्त म्यान अफ द म्याच घोषित भई पुरस्कृत भए ।

सोमबार शंकरनगर क्रिकेट क्लब र ज्ञानोदय क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

२०७७ फाल्गुन २, आईतवार मा प्रकाशित