दक्षिण अफ्रीका बिरुद्ध पाकिस्तानको ऐतिहासिक सिरिज जित

तेश्रो टि-२० मा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गर्दै पाकिस्तानले तिन टि-२० अन्तर्राष्ट्रियको सिरिज २-१ ले जितेको छ। टि-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रीकाको यो लगातार चौथो सिरिज हार हो।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रीकालाई सिरिजमा पराजित गरेको यो नै पहिलो अवसर हो। यस्तै पाकिस्तानको यो टि-२० अन्तर्राष्ट्रियमा सैयौं जित पनि हो जो १०० जित दर्ता गर्ने पहिलो टिम समेत बन्न पुगेको छ।

पाकिस्तानको गद्दाफी स्टेडियम, लाहोरमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको १६५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

पाकिस्तानको ब्याटिंगमा कप्तान बाबर आजमले सर्वाधिक ४४ रन, मोहम्मद रिजवानले ४२ रन, हसन अलिले अविजित २० रन तथा मोहम्मद नवाजले अविजित १८ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले राम्रो सुरुवात गरेको थियो। ओपनर मोहम्मद रिजवान र हैदर अलिले ५१ रनको साझेदारी गरे। सातौँ ओभरमा अलि र नवौं ओभरमा रिजवानलाई तथा त्यसपछि ११ औं ओभरमा हुसेन तलतलाई तर्ब्रेज शाम्सीले पेभेलियन फर्काउदै दक्षिण अफ्रीकालाई खेलमा फर्काए।

तेश्रो नम्बरमा ब्याटिंग गरेका कप्तान बाबर आजमले एक किनार सम्हाल्दै टिमको योगफल १०० पार गराए। १४ औं ओभरमा आजमलाई ड्वेन प्रिटोरियसले बोल्ड गरे। त्यसपछि १५ औं ओभरमा आसिफ अलिलाई शाम्सीले चौथो शिकार बनाए। १७ औं ओभरमा फहिम अशरफलाई बिजोर्न फोर्टुइनले क्क्याच आउट गर्दा पाकिस्तान दबाबमा आयो।

१७ ओभरमा १३७/६ को अवस्थाबाट पाकिस्तानलाई सातौँ नम्बरमा ब्याटिंग गरेका मोहम्मद नवाज र आठौँ नम्बरमा आएका हसन अलिले जिततर्फ डोर्याए। दुवैले सातौँ विकेटको लागि मात्र १० बलमा ३२ रनको साझेदारी गरे।

दक्षिण अफ्रीकाका चाइनाम्यान बलर तब्रेज शाम्सीले ४ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन।

खराब सुरुवात पछि मिलरको उत्कृस्ट इनिंग्स

यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो।

अत्यन्त खराब सुरुवात गरेको दक्षिण अफ्रीकाले पहिलो ६ विकेट ४८ रनको योगफलमा गुमाउन पुगेको थियो। अर्को किनारमा विकेट गुमेता पनि छैठौं नम्बरमा ब्याटिंग गरेका डेभिड मिलरले त्यसपछि आक्रामक ब्याटिंग गर्दै राम्रो योगफलतर्फ टिमलाई डोर्याए।

मिलरले उत्कृस्ट ब्याटिंग गरे

मिलरले आठौँ विकेटको लागि बिजोन फोर्टुइनसंग ४१ रनको साझेदारी गर्दै योगफल १०० पार गराए। १६ औं ओभरमा फोर्टुइनको विकेटपछि मिलरले लुथो सिपाम्लासंग नवौं विकेटको लागि अविजित ५८ रनको साझेदारी गरे।

अन्तिम ५ ओभरमा दक्षिण अफ्रीकाले ५४ रन बनायो जुन क्रममा फहिम अश्रफले गरेको २० औं ओभरमा मिलरले ४ छक्का प्रहार गरेका थिए।

मिलरले अविजित ८५ रन बनाउने क्रममा ४५ बलमा ५ चौका र ७ छक्का प्रहार गरे। ओपनर जानेमन मलानले २७, पिटे भान बिल्जोनले १६ तथा फोर्टुइनले १० रन बनाए।

पाकिस्तानको बलिंगमा डेब्यु गरिरहेका लेग स्पिनर जाहिद महमुदले सर्वाधिक ३ विकेट लिए भने मोहम्मद नवाज र हसन अलिले समान २ विकेट तथा उस्मान कादिरले १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तान ३ रनले विजयी भएको थियो भने दोश्रो खेलमा दक्षिण अफ्रीका ६ विकेटले विजयी भएको थियो। यस अघि सम्पन्न दुई वटा टेस्टको सिरिज पाकिस्तानले २-० ले आफ्नो पक्षमा पारेको थियो।

२०७७ फाल्गुन २, आईतवार मा प्रकाशित