योगेन्द्र चम्किदा मुनस्टोनलाई चितवन च्याम्पियनसिप ट्रफीको उपाधि

चितवन, फागुन ३–

१७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को उपाधि मुनस्टोन क्रिकेट क्लवले उचालेको छ ।

उपाधिसंगै मुनस्टोनले नगद २० हजार र ट्रफी प्राप्त गर्‍यो भने उपविजेतामा चित्त बुझाएको इस्र्टनले नगद १० हजार र ट्रफी प्राप्त गर्‍यो । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रिकेट संघ बागमती प्रदेश समितिका अध्यक्ष राजु बस्न्यात, विशिष्ट अतिथि प्रेम सुपर मार्केटका प्रमुख एवंम समाजसेवी प्रेम कुमार श्रेष्ठ, धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’, र चितवन क्रिकेट संघका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा ग्लोबल इन्टरफेस इस्टर्न क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै मुनस्टोनले उपाधि उचालेको हो ।

इस्टर्नले दिएको २६४ रनको लक्ष्य पछ्याएको मुनस्टोनले ४१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । मुनस्टोनका लागि योगेन्द्र सिंह कार्कीले ६० बलमा ५२, भिम सार्कीले ३४ बलमा ४६ र लोकेश बमले १८ बलमा ३९ रन बनाए ।

इस्टर्नका लागि सुमित महर्जनले ९ ओभरमा एक मेडनसहित ४८ रन खर्चिदै ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको इस्टर्नले निर्धारित ४५ ओभरमा ७ विकेट गुमाउँदै २६३ रन जोडेको थियो । उसका लागि नन्दन यादवले अविजित ३५ बलमा ८३, सुमित महर्जनले ३१ बलमा ५१ र कप्तान आकाश थापाले ३६ रन बनाए ।

मुनस्टोनका लागि भीम सार्की र हरिबहादुर चौहानले समान २ विकेट र योगेन्द्र सिंह कार्कीले एक विकेट लिए । फाइनल खेलमा मुनस्टोनका योगेन्द्र सिंह कार्की म्यान अफ दि म्याच घोषित भए ।

यस्तै तीन वटै खेलमा म्यान अफ दि म्याच घोषित भएका योगेन्द्र म्यान अफ दि सिरिज समेत घोषित भए। यस्तै उत्कृष्ट बलर विपिन खत्री र उत्कृष्ट व्याट्सम्यान सुमित महर्जन घोषित भए। उनीहरुले नगद पुरस्कार प्राप्त गरेका छन् ।

चितवन क्रिकेट संघको आयोजनामा भएको सो प्रतियोगिता माघ २७ गतेदेखि सुरु भएको थियो । प्रतियोगिताका संयोजक उमेश पियाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए । समापन समारोह संघका अध्यक्ष कैलाश प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०७७ फाल्गुन ३, सोमबार मा प्रकाशित