रुपन्देही सुपरलिग : सुनिल धमलाले घातक बलिंग गर्दा ज्ञानोदय क्रिकेट क्लब विजयी

भैरहवा, फागुन ३ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङमा आएको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । उसका लागि महेश रानाले सर्वाधिक ४६, सोनु मल्लले १६, करण विकेले १२ र सुनिल धमलाले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। बलिङमा शंकरनगरका अखलेस यादवले ३ र अनित तामाङले २ विकेट लिए ।

१३१ रनको झिनो लक्ष्य पछ्याएको शंकरनगरले ३०.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १०२ रन बनाउँन सक्यो। उसका लागि विराट भण्डारीले सर्वाधिक २८ र केशव पौडेलले २४ रन बनाए। बलिङमा ज्ञानोदयका सुनिल धमलाले ९ ओभरमा १ मेर्डन राख्दै २६ रन खर्चेर ५ विकेट लिए । राष्ट्रिय क्रिकेटर धमलाले घातक बलिंग गर्दै टिमलाई जित दिलाए। यस्तै, करण विकेले ३ विकेट लिए ।

खेलमा सुनिल धमला म्यान अफ द म्याच घोषित भए ।

मंगलबार तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी शाक्यान क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

२०७७ फाल्गुन ३, सोमबार मा प्रकाशित