आश्विनले कीर्तिमानी शतक बनाउदा भारत जिततर्फ

स्पिनरहरु हावी हुँदा पहिलो दिन देखि निकै मुस्किल मानिएको पिचमा भारतले दोश्रो इनिंग्समा अप्रत्यासित ब्याटिंग गर्दा दोश्रो टेस्ट जिततर्फ अग्रसर रहेको छ।

टेस्टको दोश्रो दिनको समाप्तिमा १ विकेट गुमाएर ५४ रन बनाएको भारतले तेश्रो दिन सुरुवाती विकेट गुमाएता पनि रभीचन्द्रन आश्विन र कप्तान बिराट कोहलीले उत्कृस्ट इनिंग्स खेल्दै भारतलाई विशाल अग्रतातर्फ डोर्याए।

१०६ रनको योगफलमा ६ विकेट गुमाएको अवस्थामा कोहली र आश्विनले ९६ रनको साझेदारी गरे। कोहली १४९ बलमा ७ चौका प्रहार गर्दै ६२ रन बनाएर मोइन अलिबाट एलबिडब्लु भएपछि आश्विनले तल्लो क्रमका ब्याट्सम्यानहरुसंग साझेदारी गर्दै टेस्ट क्रिकेटमा तेश्रो शतक पुरा गरे। यस क्रममा उनले दशौँ विकेटको लागि मोहम्मद सिराजसंग ४९ रनको साझेदारी गरे। आश्विन ८६ औं ओभरमा अन्तिम विकेटको रुपमा ओली स्टोनबाट बोल्ड भए। आश्विनले १४८ बलमा १४ चौका र १ छक्का प्रहर गर्दै १०६ रन बनाए।

दोश्रो इनिंग्समा भारतले ८५.५ ओभरमा सबै विकेट गुमाएर २८६ रन बनाउदै ४८१ रनको अग्रता हाँसिल गर्दै टेस्ट जित्न इंग्ल्यान्डलाई ४८२ रनको लक्ष्य प्रस्तुत गर्यो।

इंग्ल्यान्डको बलिंगमा ज्याक लिच र मोइन अलिले समान ४ विकेट तथा ओली स्टोनले १ विकेट लिए।


लक्ष्य पछ्याउने क्रममा तेश्रो दिन अन्तिम सत्रमा ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले खराब सुरुवात गर्दै १९ ओभरमा ५३ रन बनाउदा ३ विकेट गुमाईसकेको छ। टेस्ट जित्न २ दिन बाँकी रहंदा इंग्ल्यान्डले अझै ४२९ रन पछ्याउनु पर्नेछ।

तेश्रो दिनको समाप्ति हुँदा क्रिजमा ड्यानियल लरेन्स १९ तथा कप्तान जो रुट २ रन बनाएर अविजित रहेका छन्। यस अघि ओपनर रोरी बर्न्स २५ रन, डम सिबले ३ रन तथा ज्याक लिच खाता नखोली आउट भए। भारतको बलिंगमा अक्षर पटेलले २ तथा रभीचन्द्रन आश्विनले १ विकेट लिएका छन्।

आश्विनको कीर्तिमान

करियरको तेश्रो शतक बनाएका रभीचन्द्रन आश्विनले सबै शतक आठौं वा त्यो भन्दा तल ब्याटिंग गर्दै बनाएका हुन्। आठौँ वा त्यो भन्दा तल ब्याटिंग गर्दै ३ शतक बनाउने आश्विन पहिलो भारतीय ब्याट्सम्यान बनेका छन्। यस्तै न्युजिल्यान्डका ड्यानियल भिटोरी ( ५ शतक ) पछि जेसन होल्ड र कमरान अकमलसंगै आश्विन संयुक्त रुपमा दोश्रो धेरै आठौँ वा त्यो भन्दा तल ब्याटिंग गर्दै शतक बनाउने ब्याट्सम्यान बनेका छन्। भारतको लागि महेन्द्र सिंह धोनी, हरभजन सिंह, कपिल देबले समान २ पटक आठौं वा त्यो भन्दा तल ब्याटिंग गर्दै शतक बनाएका थिए।

एकै टेस्टमा शतक र ५ विकेट समेत लिने कीर्तिमानमा इयान बोथम पछि आश्विन दोश्रो नम्बरमा उक्लेका छन्। इंग्ल्यान्ड अलराउण्डर बोथमले ५ पटक एकै टेस्टमा शतक र ५ विकेट लिएका छन् भने आश्विनले तेश्रो पटक यो काम गर्दै २ ज्याक कालिस, मुस्ताक मोहम्मद शाकिब अल हसन र ग्यारी सोबर्सलाई उछिनेका छन्।

सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ। पहिलो टेस्टमा इंग्ल्यान्ड २२७ रनले विजयी भएको थियो। दुई टिम बीच ४ वटा टेस्ट म्याचको सिरिज पछि ५ वटा टि-२० अन्तर्राष्ट्रिय र ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्ने तालिका रहेको छ।

२०७७ फाल्गुन ३, सोमबार मा प्रकाशित