चोटिल सावित्रा लामो समय मैदान बाहिर बस्नु पर्ने

राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत खेलका क्रममा घाइते भएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी लामो समय मैदान बाहिर बस्नुपर्ने भएको छ।

एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु-याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिईन् । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनि घाइते हुँदै मैदानबाट बाहिरिनु परेको थियो । उनको खुट्टामा चोट लागेको छ ।

सावित्राको घुंडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट च्यातिएको छ जसका कारण लामो समय मैदान बाहिर बस्नु पर्नेछ। अनुमानित करिब १ वर्ष सावित्र मैदान बाहिर बस्नु पर्ने हुनसक्छ। उनको छिट्टै शल्यक्रिया गरिनेछ।

हरेकजसो खेलमा गोल गर्दै आएकी भण्डारीले सोमबार भने गर्न सकिनन् । उनले हालसम्म १० खेलमा ४३ गोल गरिसकेकी छिन्।

महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो । एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ ।

एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ ।

एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । – रासस

२०७७ फाल्गुन ४, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment