बजेट अभावले पोखरा रंगशालाको निर्माण कार्य रोकिदैन : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशालाको बाँकी रहेको र आवश्यक पर्ने भौतिक निर्माणको कार्य बजेट अभावले नरोकिने बताएका छन ।

सोमबार पोखरा रंगशालाको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको बाँकी रहेको तथा आवश्यक गर्ने भौतिक निर्माणमा बजेट अभावले कुनै पनि काम नरोकिने बताएका हुन । पोखरा रंगशालाको भौतिक पूर्वाधार निर्माणमा आवश्यक बजेटको व्यबस्था सरकारले गर्ने बताउँदै खेलकुद परिषद र गण्डकी प्रदेश सरकारले यसमा समन्वय गर्न आग्रह गर्दै उनले भने–“पोखरा रंगशालामा १३ औं सागका केही खेल भएकोले गण्डकी प्रदेश, नेपालको मात्र नभई यो रंगशाला दक्षिण एसियाकै भएकोले त्यसको लागि सरकारले आवश्यक बजेटको व्यबस्था गर्छ । ”

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालसँग रंगशाला निर्माणका विषयमा जानकारी लिंदै प्रधानमन्त्री ओलीले खेलाडीलाई अनुशासित पूर्वक खेल्ने वातावरणको निर्माण गर्ने गरी सरकारले काम गर्ने बताए । १३ औैं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल पोखरामा हुँदा अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन सक्ने रंगशालाको निर्माण गरे जस्तो आभाष आफूले पाएको उनले बताए ।

प्रधानमन्त्री ओलीले चार महिनामा रंगशाला निर्माण गर्नु ठूलो उपलव्धि भएको बताउँदै भने–“चार महिनाको छोटो अवधिमा आर्कषक रंगशालाको निर्माण पोखरामा भएको छ म, पोखरा सहित समग्र गण्डकी प्रदेशलाई बधाई दिन चाहन्छु।” पोखरा रंगशालालाई सम्पूर्ण रुपले तयारी गर्न केन्द्र सरकार अग्रसर भएर लाग्ने बताउँदै उनले यस अघि केन्द्र सरकारले सातै प्रदेशमा रंगशाला निर्माण गर्ने लक्ष्य राखेको बताए ।

पोखरा रंगशालामा विभिन्न खेल संघ सहित खेलाडी एवं खेलकुदकर्मीले स्वागत गरेकोमा हौसिदै प्रधानमन्त्री ओलीले अग्रेंजीमा समेत भाषण गर्दै हिम्मत र अनुसासित भएर लाग्न खेलाडीलाई आग्रह गर्दै खेलाडीहरुको भविश्य सुनिश्चित गर्न राज्यले आफ्ना कार्य शुरु गरेको जनाए । उनले खेलाडीलाई इमान्दारी पूर्वक राष्ट्रका लागि खेल्न अनुरोध गर्दै पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालीहरुले स्वर्णपदक जित्दा आफु खुशीले हर्षित हुने गरेको उनले सुनाए ।

यस अघि राखेपका सदस्य सचिव सिलवालले पोखरा रंगशालकाको बारेमा जानकारी गराएका थिए । पोखरा रंगशालमा करिब थप १ अर्ब बजेट आवश्यक भएको राखेप सदस्य राजेश कुमार गुरुङले बताएका छन । हिटिङ सहितको स्विमिङपुल निर्माणको लागि ३८ करोड, सुटिङ ट्रेनिङ सेन्टर, फल्डलाइट, पोखरा फुटवल स्टेडिएमको बाँकी काम पूरा गर्न लगायतका भौतिक संरचना गर्न एक अर्ब बजेट आवश्यक भएको उनले जनाएका छन ।

गणतन्त्र पछि नेपाल सरकारका निर्वाचित प्रधानमन्त्रीले पहिलो पटक पोखरा रंगशाला औपचारिक रुपमा अवलोकन गरेको यो पहिलो पटक हो । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मगर, गण्डकी प्रदेशका सांसदहरु कृष्ण थापा, मोहन रेग्मी, इन्द्रधारा विष्ट, राखेपका सदस्यहरु सुर्वण श्रेष्ठ, सम्पन्न श्रेष्ठ, रेणुका श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजगुरुङ लगायत अन्य विशिष्ट महानुभावहरुले प्रधानमन्त्री ओलीलाई पोखरा रंगशालामा स्वागत गरेका थिए ।

( साभार – पोखरास्पोर्ट्स )

२०७७ फाल्गुन १७, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment