सुदूरपश्चिम स्पोर्टस अवार्ड : गोपीचन्द्र र गौरीका उत्कृष्ट, सरस्वती लोकप्रिय

धनगढी : दोस्रो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की बर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह बर्ष महिला खेलाडीबाट सम्मानित भएका छन्।

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल बर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल बर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो । पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दुरीमा पहिलो स्वर्ण पदक जित्ने किर्तिमान बनाएका थिए। पुरुष ५ हजार मिटर दौडको निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेका थिए । भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडि पार्दै १३ बर्ष अघि गुमेको स्वर्ण उनले फिर्ता ल्याएका थिए । यस्तै सिंहले १३ औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण दुई रजत र तीन कास्य जितेकी थिईन् । एक सय, दुई सय र चार सय मिटर फ्रिस्टाईल तथा दुई सय मिटर ब्याकस्टेकमा गरी ऐतिहासिक चार स्वर्ण जित्ने किर्तिमान उनको नाममा छ । दक्षिण एसियाली खेलकुदमा सबैभन्दा वढी ९ पदक जितेर सर्वाधिक पदक जित्ने अर्को किर्तिमान पनि उनको नाममा छ ।

यस्तै भलिबलकी सरस्वती चौधरी बर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन् । चौधरीलाई बनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्रदान गरिएको हो । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन् । चौधरीले ४५ दशमलव ९ प्रतिशत भोट पाइन् भने सिंहले ४४ दशमलव ८५ र चन्दले ९ दशमलव २५ प्रतिशत भोट पाइन् । नेपालको महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टीमकी महत्वपूर्ण खेलाडी थिईन् चौधरी । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् ।

कुस्तीका राजेन्द्र चन्द बर्ष प्रशिक्षक घोषित भएका छन् । दिनेश सोप बर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो । उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा पहिलो स्वर्ण जितेको थियो । उनी एक स्वर्ण सहित तीन रजत र तीन कास्य गरी सात पदक जिताउने प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा सहभागीता जनाएका सबै खेलाडीले पदक जितेका थिए ।

कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन दशक अघि चार पटक नेपाल च्याम्पीयन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलालीको गेटा निवासी भट्टलाई नेपाल खेलकुद पत्रकार सञ्च कैलालीले लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेको छ । दुबै खेलाडीलाई न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड प्रदान गरिएको हो । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् । अन्जलीले १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पार्दा कीर्तिमानी बलिङ गरेकी थिईन् । उनले ह्याट्रिक सहित कुनै रन नदिएर ६ विकेट लिएकी थिईन् । उनी पहिलो ओभर मेडेन राख्दै तीन विकेट, दोस्रो ओभरको अन्तिम दुइ बलमा दुइ विकेट र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर कीर्तिमान रच्न सफल भएकी थिईन् ।

२०७७ चैत्र ६, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment