नेपाली राष्ट्रिय फुटबल टोलीले १९८४ पछि दशरथ रंगशालमा पहिलो उपाधि थ्री नेसन्स कप जितेको छ । घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोलको नतिजामा पराजित गर्यो । पछिल्ला सात खेलमा गोल गर्न असफल रहेको नेपाली राष्ट्रिय टोलीका लागि संजोग राईले १८ महिनापछि गोल गरेका थिए । कर्नरमार्फत रिबाउन्डमा आएको बललाई १८औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै संजोगले नेपाललाई अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा विशाल राईले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । उनले संजोग राईको पासमार्फत् पेनाल्टी एरिया भित्रबाट बंगलादेशका गोलकिपरलाई बिट गर्दै शानदार गोल गरेका थिए । दोस्रो हाफको सुरुआतदेखि नै खेलमा फर्किन निरन्तर प्रयासरत बंगलादेशका लागि सब्स्टिच्युट खेलाडी महबुबुर रहमानले ८३औं मिनेटमा एक गोल फर्काएका थिए ।
कर्नरमार्फत आएको क्रसलाई रहमानले हेडरमार्फत जाली चुमाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । प्रतियोगिताको च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर तथा उपविजेता बंगलादेशले ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल, मलेसिया र नेदरल्याण्ड बीच त्रिकोणात्मक सिरीज अप्रिल १७ देखि