फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ ।
नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ । साथै उहाँले अस्ट्रेलियासँगको खेलमा बाँकी युवा खेलाडीले पनि मौका पाउन सक्ने बताउनुभएको छ ।
नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्व कप खेलिसकेको अस्ट्रेलिया भने नेपाललाई हराएर विश्व कपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।
समूह बी मा रहेको अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथो स्थानमा रहेको छ । नेपालले मात्र ६ अङ्क जोडेको छ ।
खेल अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले के भने –
“हामीले अर्को राम्रो खेल खेल्नुपर्ने छ । हाम्रो लक्ष्य नतिजा भन्दा पनि राम्रो खेल खेल्ने हो। नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, खेल्ने शैलीमा केही परिवर्तन भएको छ। कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन्। युवा खेलाडीलाई पनि डेब्यूको अवसर हुन सक्छ । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नुपर्छ । हामी हेर्छौँ । भोलिको खेलमा सुरुवात त गर्दैनन् तर अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन।”
अस्ट्रेलियासंग खेल नेपाली टिमको अभ्यासको फोटोहरु