नयाँ सिजनको पहिलो खेलमै आर्सनलको लज्जास्पद हार

२०२१/२२ सिजनको इंग्लिस प्रिमियर लिग हिजोबाट सुरु भएको छ। शुक्रबार राति सम्पन्न नयाँ सिजनको पहिलो खेलमै आर्सनल ७४ वर्षपछि लिगमा डेब्यु गरिरहेको ब्रेन्टफर्डसँग स्तब्द बनेको छ।

ब्रेन्टफर्डले आफ्नो घरेलु मैदान ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा दुवै हाफमा गोल गर्दै २-० को जित हात पारेको हो। उसका लागि सर्जी कानोस र क्रिस्टियन नोर्गार्डले समान एक-एक गोल गरे।

२२ औं मिनेटको खेलमा सर्जी कानोसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। उनले पेनाल्टी क्षेत्रभित्र आर्सनलका डिफेन्डर क्यालम च्याम्बर्सलाई बिट गर्दै नजिक पोष्टमा गरेको प्रहारलाई गोलरक्षक बर्न्ड लेनोले बचाउन सकेनन्। पहिलो हाफमा घरेलु टोलिले पोजेसन जमाउदै अग्रता कायम राखेको थियो।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेता पनि आर्सनलले बराबरी गोल गर्न भने असफल रह्यो। खेलको ७० औं मिनेटमा क्यालम च्याम्बर्सले गरेको क्रसको सदुपयोग गर्दै ग्रानिट झाकाले देव्रे खुट्टाले गरेको प्रहार आकासियो।

७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै घरेलु टोलिलाई सहज जिततर्फ अग्रसर पारे। इथान पिन्नोकले गरेको लामो थ्रो इनलाई बक्सभित्र आर्सनलका खेलाडीहरुले क्लियर गर्न नसक्दा फार पोस्टमा रहेका उनले हेडरमार्फत बललाई गोलको दिशा देखाएका थिए।

त्यसपछि खेलमा अन्य गोल सम्भव नहुदा ब्रेन्टफर्डले आर्सनललाई २-० को नमिठो हार चखाएको हो। आर्सनलका फर्वाडद्वय एलेसांड्रे लाकाजेट्टे र पियरे एमेरिक अवामियांग बिरामी रहेका कारण टिममा थिएनन्।

रोमान्चक जितसंगै ब्रेन्टफर्डले ३ महत्वपूर्ण अंक बटुलेको छ। यो सिजन कोरोना भाइरसको महामारीपछि पहिलो पटक पूर्ण क्षमताको दर्शकलाई प्रवेश दिइएको छ।

२०७८ श्रावण ३०, शनिबार मा प्रकाशित