फ्रेन्च डिफेन्डर राफेल भरान म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले फ्रेन्च डिफेन्डर राफेल भरानलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट ४ वर्षे सम्झौतामा अनुबन्ध गरेको छ। युनाइटेडले शनिबार लिड्स युनाइटेडसंगको खेल अगाडी औपचारिक रुपमा २८ वर्षिय भरानलाई भित्राएको सार्वजनिक गरेको हो।

२०११ मा लेन्सबाट रियल म्याड्रिडमा अनुबन्धित भएका भरानले १० वर्ष त्यहाँ बिताए। १० वर्षे करियरमा उनले क्लबलाई ३ ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधी जिताउन महत्वपूर्ण योगदान दिएका थिए।


“विश्व फुटबलमै म्यानचेस्टर युनाइटेड एक प्रतिष्ठित क्लब हो। यहाँ आएर प्रिमियर लिग खेल्ने मौका पाउनु मेरो लागि ठुलो कुरा हो। म यहाँ आफ्नो प्रभाव बनाएर क्लब इतिहासको भाग बन्न चाहन्छु।”, भरानले म्यानचेस्टर युनाइटेडको औपचारिक वेबसाइटमा बताएका हुन्।

विश्व कप विजेता भरानले फ्रान्सलाई २०१८ को विश्व कप जिताउन महत्वपूर्ण योगदान दिएका थिए। उनले हालसम्म ७९ अन्तराष्ट्रिय क्याप जितेका छन्।  युरो २०२० मा फ्रान्स अन्तिम १६ बाट बाहिरिनु अगाडी उनले सबै ४ खेल खेलेका थिए।

२०२५ सम्म युनाइटेडमा बस्ने भरानले १९ नम्बरको जर्सी लगाउने छन्। उनको आगमनसंगै युनाइटेडको डिफेन्स थप मजबुत हुने निश्चित छ।

युनाइटेडले लामो समयदेखि भरानमाथि नजर राखेको थियो। क्लबका पुर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले भरान म्याड्रिड जानु अगाडीनै उनलाई अनुबन्ध गर्न पहल गरेका थिए। मौरिन्हो ओल्ड ट्राफोर्डमा रहदा पनि उनलाई भित्राउन इच्छुक थिए।

भरान यस समर ट्रान्सफर विन्डोमा युनाइटेडले अनुबन्ध गरेको तेस्रो खेलाडी हुन्। यसअघि क्लबले विंगर जेडान सान्चो र गोलरक्षक टम हिटोनलाई अनुबन्ध गरिसकेको छ।

२०७८ श्रावण ३०, शनिबार मा प्रकाशित