सलाह चम्कदा लिभरपुलको जित

२०२१/२२ सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत इजिप्टियन फरवार्ड मोहम्मद सलाह चम्कदा लिभरपुलले आफ्नो पहिलो खेलमा नर्विच सिटीलाई ३-० गोलअन्तरले सहजै हराएको छ। नर्विचको घरेलु मैदान क्यारो रोड नर्विच नोरफल्कमा सम्पन्न खेलमा लिभरपुलका लागि डिएगो जोटा, रोबर्टाे फिर्मिनो र मोहम्मद सलाहले समान एक-एक गोल गरे। यस्तै, सलाहले दुई असिस्ट समेत दिए।

खेलको सुरुवात देखि नै आक्रामक खेल पस्केको लिभरपुलले २६ औं मिनेटमा पोर्चुगिज फरवार्ड डिएगो जोटाको गोलमा सुरुवाती अग्रता लिएको थियो। ट्रेन्ट एलेक्जेन्डर-आर्नोल्डले गरेको पासलाई सलाहको ह्याभी फस्ट टचका कारण जोटाले पाएको बललाई उनले गोलको दिशा देखाएका थिए।

६५ औं मिनेटमा सब्सिच्युट भएर मैदान प्रवेश गरेका रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा २-० ले अघि बढाए। साडियो मानेले गरेको प्रहार नर्विचका डिफेन्डरलाई डिफ्लेक्शन भएर आएको बललाई सलाहले पोष्टको अगाडी अन्मार्क रहेका फर्मिनोलाई पास दिएका थिए।त्यसमा फर्मिनोले कुनै गल्ति गरेनन्।

खेलको ७४ औं मिनेटमा सलाहले सानदार गोल गर्दै लिभरपुलको जित पक्का गराए। नर्विचका डिफेन्डर बेन गिब्सनले क्लियर गरेर आएको बललाई सलाहले बक्स भित्रबाट गरेको प्रहारमा नर्विचका गोलरक्षक टिम क्रुललाई कुनै मौका थिएन। उक्त गोलसंगे सलाह पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

लिभरपुलले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गरेको थियो। जितसंगै लिभरपुलले ३ अंक जोडेको छ।

२०७८ श्रावण ३१, आईतवार मा प्रकाशित