भार्डीको निर्णायक गोलमा लेस्टर विजयी

२०२१/२२ सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत जिमी भार्डीले निर्णायक गोल गर्दा लेस्टर सिटी विजयी भएको छ। लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा गए राति भएको खेलमा वुल्भ्स १-० ले पराजित भएको हो।

खेलको ३६ औं मिनेटमा स्पेनिस विंगर एडामा ट्राओरेले वान भर्सेस वानको स्थितिमा गोल गर्न नसक्दा वल्भ्स अग्रता लिनबाट चुक्यो। त्यसको पाँच मिनेट नबित्दै भार्डीको सुन्दर गोलमा लेस्टरले अग्रता लियो। रिकार्डो पेइरेराले वल्भ्सका २ जना डिफेन्डरलाई बिट गर्दै दिएको क्रसमा भार्डीले गरेको फस्ट टच प्रहारले जाली चुम्यो।

५२ औं मिनेटमा लेस्टरका डिफेन्डर ड्यानियल अमार्टेको गल्तीमा ट्रिन्काओले गरेको प्रहारलाई सोयन्चुले ब्लक गरिदिए। ६८ औं मिनेटमा ट्राओरेले लेस्टरका दुई जना डिफेन्डरबाट सानदार बल जित्दै गरेको प्रहार केस्पर स्माइकलले सहजै बचाए। ८९ औं मिनेटमा वल्भ्सका कप्तान कोनोर कोडीले राहुल जिमिनेजको पासमा गरेको गोल अफसाइड ठहरियो।

निकै रोमान्चक खेलमा अन्य गोल सम्भव नहुदा लेस्टरले संघर्षपूर्ण जित निकाल्यो। खेलमा थुप्रै अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा वल्भ्स हारबाट जोगिन सकेन। जितसंगै लेस्टरले ३ महत्वपूर्ण अंक जोडेको छ।

२०७८ श्रावण ३१, आईतवार मा प्रकाशित