डिएगो कोस्टा ब्राजिलियन क्लब एटलेटिको मिनेइरोमा अनुबन्धित

८ महिना क्लबविहिन रहेका स्पेनिस फरवार्ड डिएगो कोस्टा ब्राजिलियन क्लब एटलेटिको मिनेइरोमा अनुबन्धित भएका छन्। ३२ वर्षीय कोस्टाले डिसेम्बरमा स्पेनिस क्लब एटलेटिको म्याड्रिड छाडेका थिए।

मिनेइरो क्लबको हाल ब्राजिलियन लिग ‘सेरिय ए’ को शिर्ष स्थानमा पाँच अंकको अग्रता छ। उसले १६ खेलमा ३७ अंक जोडेको छ। मिनेइरोले १९७१ यता राष्ट्रिय ट्रफी जित्न सकेको छैन। क्लब अर्को वर्ष नयाँ स्टेडियम बनाउने योजनामा समेत रहेको छ। पुर्व ब्राजिलियन फरवार्ड हल्क पनि मिनेइरो क्लबमा आबद्ध छन्।

कोस्टाको जन्म भने ब्राजिलमै भएको थियो। उनले २०१३ मार्चमा ब्राजिलबाट दुई मैत्रीपूर्ण खेल समेत खेलेका थिए। त्यसपछि स्पेनको नागरिकता पाएका कोस्टाले स्पेनको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन्। उनले स्पेनबाट २०१४ र २०१८ को विश्व कप खेलेका थिए।

कोस्टाले इंग्लिस क्लब चेल्सीबाट ३ सिजन खेल्दा १२० खेलमा ५९ गोल गरेका छन्। एटलेटिको म्याड्रिडबाट चेल्सी आएका कोस्टा ३ वर्ष त्यहाँ बिताएर पुनः म्याड्रिडमै फर्किएका थिए। तर, त्यसबेला कोस्टाले आफ्नो पुरानो क्लबमा प्रभाव भने बनाउन सकेनन्। चोटले सताएको कारण कोस्टाले ३ वर्षमा जम्मा ४३ लिग खेलमा सुरुवात गरे। जसमा उनले जम्मा १२ गोल गरेका थिए। खराव प्रदर्शनपछि कोस्टाले व्यक्तिगत कारण देखाउदै क्लब छाड्न क्लबलाई आग्रह गरेका थिए।

कोस्टाले चेल्सीबाट प्रिमियर लिगको उपाधी २ पटक जितेका छन्। यस्तै, म्याड्रिडबाट उनले १ ला लिगाको उपाधी तथा २०१८ मा युरोपा लिग समेत जितेका छन्।

२०७८ श्रावण ३१, आईतवार मा प्रकाशित