इटालियन क्लब इन्टर मिलानले बोस्निया एण्ड हर्जगोबिनाका फरवार्ड एदीन जेको र नेदरल्यान्ड्सका राइट ब्याक डेन्जेल डम्फ्रिजलाई अनुबन्ध गरेको छ।
इटालियन लिग ‘सिरी ए’ को विजेता मिलानले जेकोलाई बेल्जियमका फवार्ड रोमेलु लुकाकुको प्रतिस्थापनको रुपमा भित्र्याएको हो। ११ वर्षपछि मिलानलाई लिग जिताउन महत्वपूर्ण योगदान गरेका लुकाकु यसै साता आफ्नो पुर्व क्लब चेल्सी फर्किएका थिए।
३५ वर्षीय जेको २ वर्षे सम्झौतामा अनुबन्धित भएका हुन्। उनले औपचारिक रुपमा घोषणा हुनु अगाडीनै मिलानबाट डायनामो कीभविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए। त्यसमा उनले १ गोल गर्नुका साथै र १ असिस्ट समेत दिएका थिए।
खेलपछि मिलानले जेको भित्र्याएको औपचारिक रुपमा सार्वजनिक गरेको थियो। २०१५ यता रोमाको प्रतिनिधित्व गर्दै आएका उनले २६० खेल खेल्दा ११९ गोल गरेका थिए। यस्तै, उनले गत सिजन २७ खेलमा ७ गोल गरेका थिए। ११४ खेलमा ५९ गोल गरेका जेको बोस्निया एण्ड हर्जगोबिनाका सर्वाधिक गोलकर्ता समेत हुन्।
जेकोले २००८-०९ को सिजनमा उल्भ्सवर्गलाई पहिलो बुन्डेसलिगा उपाधी जिताउन २६ गोल गर्दै महत्वपूर्ण योगदान दिएका थिए। यस्तै, उनले म्यानचेस्टर सिटीबाट २०११-१२ र २०१३-२४ इंग्लिस प्रिमियर लिग जितेका थिए।
रोमाका नवनियुक्त प्रशिक्षक जोसे मौरिन्होले जेकोको प्रतिस्थापनमा चेल्सीका युवा फवार्ड ट्यामी अब्राहमलाई भित्र्याउन पहल गरेका छन्।
यस्तै, युरो २०२० मा सानदार प्रदर्शन गरेका डेन्जेल डम्फ्रिजलाई पनि मिलानले अनुबन्ध छ। मिलानले उनलाई पीएसभी आइंटहवनबाट ४ वर्षे सम्झौतामा भित्र्याएको हो। डम्फ्रिजले युरो २०२० मा ४ खेल खेल्दा २ गोल गरेका थिए। उनले राष्ट्रिय टोलीबाट २३ क्याप जितेका छन्।
मिलानले शनिबार गेनोआविरुद्ध खेल्दै ‘सरी ए’ मा आफ्नो उपाधी रक्षाको थालनी गरिन्छ।