एन्टोनियो चम्कदा वेस्ट ह्यामको पुनरागमन जित

२०२१/२२ सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले न्युकासल युनाइटेडमाथि ४-२ गोलअन्तरको पुनरागमन जित निकालेको छ। न्युकासलको घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्यामले दुई पटकको अग्रता उल्टाएर जित आफ्नो पोल्टामा पारेको हो।

वेस्ट ह्यामको जितमा आरोन क्रेसवेल, सैद बेन्रह्मा, थोमस सुसेक र माइकल एन्टोनियोले समान एक गोल गरे। न्युकासलका लागि कलुम विल्सन र जाकोब मुर्फीले गरेको गोल भने केवल सान्त्वनामा सिमित बन्यो।

पाचौं मिनेटको खेलमा घरेलु टोलीले विल्सनको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो। एलान सेन्ट-माक्सिमिनले दायाँ फ्ल्यान्कबाट डेक्लान राइसलाई बिट गर्दै गरेको क्रसलाई उनले हेडरमार्फत गोल गरेका थिए।

१८ औं मिनेटमा न्युकासलका लागि क्रेसवेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए। भारको प्रयोग भएता पनि उनको गोलले मान्यता पाएको थियो।

२६ औं मिनेटमा मिग्युएल अल्मिरोंले गरेको लांग रेन्ज प्रहारमा बार बाधक बन्यो।

पहिलो हाफमा आक्रामक खेल पस्केको न्युकासलले मुर्फीको गोलमा पुनः २-१ को अग्रता बनाएको थियो। पहिलो हाफमा अग्रता कायम राखेको न्युकासलले दोस्रो हाफमा ३ गोल व्यहोर्न पुग्यो।

खेलको ५३ औं मिनेटमा बेन्रह्माले गोल गर्दै वेस्ट ह्यामलाई २-२ को बराबरीमा ल्याए। ६२ औं मिनेटमा मुर्फीले पेनाल्टी बक्सभित्र प्याब्लो फोर्नाल्सलाई लडाएपछि वेस्ट ह्यामले पेनाल्टी पायो। एन्टोनियोले बायाँतर्फ गरेको प्रहारलाई न्युकासलका गोलरक्षक वुडम्यानले बचाएता पनि रिबाउन्डमा आएको बललाई सुसेकले गोलको दिशा देखाए।

त्यसको ३ मिनेटपछि एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई ४-२ को आरामदायी अग्रता दिलाए। बेनराह्माले मिलाएको पासलाई सदुपयोग गर्दै उनले दायाँ पोष्टमा गरेको प्रहारले जाली चुमेको थियो। उक्त गोलसंगे एन्टोनियो वेस्ट ह्यामका लागि प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका छन्। उनीसंगै पाओलो डी कानियोले वेस्ट ह्यामका लागि सर्वाधिक ४७ गोल गरेका छन्।

खेलमा अन्य गोल सम्भव नहुदा वेस्ट ह्यामले ४-२ को पुनरागमन जित दर्ता गर्यो। जितसंगै उसले ३ महत्वपूर्ण अंक जोडेको छ।

२०७८ श्रावण ३१, आईतवार मा प्रकाशित