पहिलो खेलमै साविक विजेता म्यानचेस्टर सिटी पराजित

२०२१/२२ सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत साविक विजेता म्यानचेस्टर सिटी आफ्नो पहिलो खेलमै टोटेनहम हट्सपसंग १-० ले पराजित भएको छ। आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनहमका लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले निर्णायक गोल गरे।

खेलको २३ औं मिनेटमा सिटीका गोलरक्षक एडर्सन फ्रिककलाई पन्च गर्न गोल लाइनबाट बाहिर आउदा लुकास मौराले खालि पोष्टमा गरेको प्रहारलाई गुण्डोगनले ब्लक गरे। ३५ औं मिनेटमा रियाद मारेजले गरेको भली प्रहार बाहिरिदा सिटी अग्रता लिनबाट चुक्यो। पहिलो हाफमा सिटीले पोसेसनमा पकड जमाएर थुप्रै आक्रमण बुनेपनि गोल गर्न भने सकेन।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको टोटेनहमले ५५ औं मिनेटमा सुरुवाती अग्रता लियो। काउन्टर अट्याकमा स्टिभन बर्गवाइनको असिस्टमा सनले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। लगत्तै बर्गवाइन वान भर्सेस वानको अवस्थामा गोल गर्न नसक्दा टोटेनहमले अग्ता दोब्बर पार्ने सुनौलो अवसर गुमायो।

७० औं मिनेटमा रियाद मारेजको लो क्रसलाई विंगर फेरान टोरेसले नियन्त्रणमा लिन नसक्दा सिटी बराबरी गोल गर्नबाट चुक्यो। त्यसको ४ मिनेटपछि सिटीबाट डेब्यु गरिरहेका ज्याक ग्रिलिसले बायाँ विंगबाट आक्रमण बुन्दै गरेको प्रहारलाई टोटेनहमका गोलरक्षक लोरिसले सहजै बचाए। ८३ औं मिनेटमा बेल्जियमका मिडफिल्डर केभिन डे ब्रुएनले बक्स बाहिरबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।

टोटेनहमका प्रशिक्षक नुनो एस्पिरितो

खेलमा पोसेसन जमाएपनि फिनिसिंगमा चुक्दा सिटी पहिलो खेलमै पराजित हुन पुग्यो। कीर्तिमानी रकममा सिटीमा यसै सिजन अनुबन्धित भएका ज्याक ग्रिलिसले लिगमा डेब्यु गरेका थिए। उनको प्रदर्शन राम्रो रह्यो। त्यस्तै टोटेनहमका लागि अर्जेन्टिनी डिफेन्डर क्रिस्टियन रोमेरोले खेलको अन्त्यतिर मैदान प्रवेश गर्दै प्रिमियर लिगमा डेब्यु गरे। टोटेनहमका फरवार्ड ह्यारी केन भने टिममा सामेल थिएनन्।

स्पर्सका नव नियुक्त प्रशिक्षक नुनो एस्पिरितोरिको टोलीले लिगमा सानदार सुरुवात गर्दै ३ महत्वपूर्ण अंक जोडेको छ। नुनो यसै सिजन वल्भ्सबाट टोटेनहममा आबद्ध भएका हुन्।

२०७८ श्रावण ३१, आईतवार मा प्रकाशित