बार्सिलोना र एट्लेटिको म्याड्रिडको विजयी सुरुवात

स्पेनिस लिग ला लिगा अन्तर्गत डेनिस फरवार्ड मार्टिन ब्रेथवेट चम्किदा बार्सिलोनाले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसीडाडलाई ४-२ गोलअन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा ब्रेथवेटले २ गोल र १ असिस्ट दिए। यस्तै, डिफेन्डर जेरार्ड पिके र सर्जी रोबर्टोको नाममा समान एक गोल रह्यो। लोबेटे र मिकेल ओयाराज्बालको गोल भने सोसीडाडको हार टार्न प्रयाप्त रहेन।

खेलको १९ औं मिनेटमा घरेलु टोलीले पिकेको गोलमा सुरुवाती अग्रता लियो। उनले डिपाएको फ्रिककमा हेडरमार्फत गोल गरेका थिए।

पहिलो हाफको अतिरिक्त समयमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। उनले पनि फ्रेन्की डे जोङको क्रसमा हेडरमार्फत नै गोल गरेका थिए।

पहिलो हाफमा बार्सिलोनाले २-० को अग्रता बनाएको थियो। खेलको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा ३-० ले अघि बढाए। जोडी अल्बाले दायाँ विंगबाट गरेको प्रहारलाई सोसीडाडका गोलरक्षकले बचाएता पनि रिबाउन्डमा आएको बललाई उनले गोलको दिशा देखाएका थिए।

त्यसपछि ३ मिनेटको अन्तरमा २ गोल फर्काउदै सोसीडाड खेलमा फर्कियो। ८२ औं मिनेटमा लोबेटेले जनुजाजको थ्रु पासको सदुपयोग गर्दै गोल गरेका थिए। त्यसको ३ मिनेटपछि ओयाराज्बालले फ्रिककमा गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए।

तर,अतिरिक्त समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनाको जित पक्का गराए। ब्रेथवेटले दायाँ विंगबाट दिएको क्रसमा खालि पोष्ट अगाडी रहेका उनले सहज गोल गरेका थिए।

लिओनेल मेस्सीले क्लब छाडेपछि पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा उत्रिएको बार्सिलोनाले सानदार जित निकाल्दै ३ अंक जोडेको छ। उसका लागि फरवार्ड  मेम्फिस डिपाए र डिफेन्डर एरिक गार्सियाले डेब्यु गरेका थिए।

यस्तै, हिजो भएको खेलमा साविक विजेता एट्लेटिको म्याड्रिडले सेल्टा डी भिगोमाथि २-१ को जित दर्ता गर्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एट्लेटिकोको जितमा दुवै गोल एन्जल कोरेआले गरे भने सेल्टा डी भिगोका लागि स्पेनिस फरवार्ड इगो आस्पासले एक गोल फर्काए।

शनिबार अलाभेसमाथि ४-१ को सानदार जित निकालेको रियल म्याड्रिड अंकतालिकाको शिर्ष स्थानमा छ।

२०७८ श्रावण ३२, सोमबार मा प्रकाशित