फिफा वरियतामा नेपालको सुधार

फिफा वरियतामा नेपालले तीन स्थानको सुधार गरेको छ । यसअघि १ सय ७१ औँ स्थानमा रहेको नेपाल विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा १ सय ६८ औँ स्थानमा छ । मे २७ पछि फिफाले बिहीबार वरियता सार्वजनिक गरेको हो ।

जेठमा नेपालले विश्व कप तथा एसियन कप छनोटका बाँकी ३ खेल र त्यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । इराकसँग उसकै मैदानमा नेपाली टोली ६–२ ले पराजित भएको थियो । विश्व कप छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको नेपाल त्यसपछिका दुई खेलमा जोर्डन र अस्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो ।

विगतमा जस्तै दक्षिण एसियाली राष्ट्रमध्ये भारत शीर्षस्थानमा रहेको छ । भारत फिफा वरियताको १ सय पाँचौँ स्थानमा छ । त्यस्तै माल्दिभ्स १ सय ५८ औँ स्थानमा छ । नेपाल भन्दा पछि भुटान १ सय ८७ औँ, बङ्गलादेश १ सय ८८ औँ, पाकिस्तान १ सय ९८ औँ र श्रीलङ्का २ सय पाँचौँ स्थानमा रहेको छ ।

बेल्जियम फिफा वरियताको शीर्षस्थानमा छ भने ब्राजिल दोस्रो, विश्व कप विजेता तेस्रो, युरो २०२० को उपविजेता इंग्ल्यान्ड चौथो, युरो विजेता इटाली पाँचौँ, कोपा अमेरिका विजेता अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।

२०७८ श्रावण २८, बिहीबार मा प्रकाशित