स्पेनिस क्लब रियल म्याड्रिडका पहिलो रोजाइका गोलरक्षक थिबस कोर्टोइसले क्लबसँग सझौता नविकरण गरेका छन्। २९ वर्षीय उनले क्लबसँग थप पाँच वर्षको सम्झौता गरेका हुन्। उनि अब म्याड्रिडमा सन् २०२६ को जुन ३० सम्म रहनेछन्।
कोर्टोइस २०११ मा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका थिए। चेल्सीमा अनुबन्धित भएको एक साता नबित्दै उनि लोनमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पुगेका थिए। त्यहाँ ३ सिजन बिताएपछि उनि पुनः चेल्सी फर्किएका थिए। चेल्सीबाट सानदार प्रदर्शन गरेका कोर्टोइसले २०१६-१७ सिजनको प्रिमियर लिगमा गोल्डेन गल्भ्स जितेका थिए।
स्टामफोर्ड ब्रिजमा ४ सिजन बिताएका उनि २०१८ यता रियल म्याड्रिडबाट खेल्दै आएका छन्। कोर्टोइसले चेल्सीबाट समग्रमा १५४ खेल खेलेका छन्। त्यसमध्य प्रिमियर लिगमा १२६ खेल खेल्दा उनको नाममा ४८ क्लिन सिट छ।
👕 #Courtois2026 pic.twitter.com/byi0PALmli
— Real Madrid C.F. 🇬🇧🇺🇸 (@realmadriden) August 16, 2021
३ वर्ष अगाडी लेगानेसविरुद्ध खेल्दै म्याड्रिडबाट डेब्यु गरेका उनले क्लबलाई समान एक ला लिगा, स्पेनिस सुपर कप क्राउन र क्लब विश्व कपको उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका थिए।
२०२१/२२ सिजनको ला लिगा अन्तर्गत अलाभेसविरुद्धको पहिलो खेलमा उनले खेलेका थिए। उक्त खेलमा उनले क्लिन सिट राख्न नसकेता पनि टिमले भने ४-१ को सहज जित निकाल्दै लिगमा विजयी सुरुवात गरेको थियो।
उनले म्याड्रिडबाट सबै प्रतियोगिता गरि हालसम्म १२५ खेल खेल्दा ५२ क्लिन सिट राख्न सफल भएका छन्। उनले २०१८ को विश्व कपमा बेल्जियमले तेस्रो स्थान हासिल गर्दा गोल्डेन गल्भ्स जितेका थिए। उनले राष्ट्रिय टोलीबाट ८९ क्याप जितेका छन्।