युरोपियन सुपर लिगका ९ संस्थापक क्लब युरोपियन क्लब एसोसियनमा फर्किए

संचालनमा आउन नसकेको युरोपियन सुपर लिग (इएसएल) नामक नयाँ प्रतियोगिताको संस्थापक सदस्यको रुपमा रहेका ९ वटा क्लब फेरि युरोपियन क्लब एसोसियन (इसिए) मा फर्किएका छन्।

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ६ इंग्लिस क्लबसहित २ इटालियन क्लब र एक स्पेनिस क्लबले पुनः इसिएको सदस्यता लिएका हुन्। ९ क्लबले २०२३ सम्मको सदस्यता लिएको इसिएले जनाएको छ।

युरोपियन सुपर लिगको संस्थापक क्लबमा रहेका इंग्लिस क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमसँगै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इटालियन क्लब इन्टर मिलान र एसी मिलानले इसिएमा फर्किएका हुन्।

इसिएको अध्यक्षमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अध्यक्षसमेत रहेका नासिर अल खेलाफी रहेका छन्। उनले युभेन्टसका अध्यक्षसमेत रहेका एन्ड्रीए एगनेल्लीलाई प्रतिस्थापन गरेका थिए।

अप्रिल १८ मा रियल म्याड्रिडका अध्यक्षसमेत रहेका फियोरेन्टिना पेरेजको अध्यक्षतामा युरोपियन सुपर लिगको घोषणा भएको थियो। घोषणासँगै चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका सबै ६ क्लबसहित स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इटालियन क्लब इन्टर मिलान र एसी मिलानले सुपर लिगबाट हात झिकेका थिए।

युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा घोषणा गरेको युरोपियन सुपर लिगमा अब स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनासँगै इटालियन क्लब  युभेन्ट्स मात्रै रहेका छन्।

२०७८ भाद्र १, मंगलवार मा प्रकाशित