मेस्सीले कहिले गर्दैछन् पिएसजीबाट डेब्यु ?

फ्रेन्च क्लब पिएसजीसँग अगष्ट १० मा औपचारिक रुपमा अनुबन्धित भएका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले हालसम्म डेब्यु गरेका छैनन् । पुर्व क्लब बार्सिलोनाको आर्थिक समस्याको कारण सम्झौता नवीकरण गर्न असफल भएपछि उनि फ्री ट्रान्सफरमा पेरिस पुगेका हुन् ।

मेस्सीलाई नयाँ क्लबको जर्सी लगाएर मैदान उत्रिएको हेर्न थुप्रै फुटबल समर्थकहरु उत्साहित  छन् । तर, मेस्सीको फिटनेसका कारण उनलाई पिएसजीको जर्सीमा खेलेको हेर्न समर्थकहरुले अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

पिएसजीले फेन्च लिगमा यसअघिनै २ खेल खेलिसकेको छ । दुवै खेलमा जित निकालेको उसले ६ अंक जोडेको छ । मेस्सी भने उक्त खेहरुमा टोलीमा थिएनन्।

राष्ट्रिय टोलीबाट कोपा अमेरिका जितेका मेस्सी अन्तराष्ट्रिय खेलबाट केहि ढिलो बार्सिलोना फर्किएका थिए । बार्सिलोनामै बस्न इच्छुक देखिएका मेस्सी क्लबको आर्थिक समस्याको कारण सम्झौता थप गर्न नसकेपछि क्लब छाड्न बाध्य भए, जसकारण प्रि-सिजनको प्रशिक्षण  गुमाउन पुगे ।

मेस्सीले पिएसजी आएपछि मात्र ३ चोटी प्रशिक्षण गरेकाले पूर्ण म्याच फिट छैनन् । त्यसकारण शुक्रबार राती हुने ब्रेस्टविरुद्धको खेलमा उनि सुरुवाती रोजाइमा खेल्ने गरि फिट नहुने बुझिएको छ । तर, टोलीमा रहेर उनी बेन्चबाट भने मैदान छिर्न सक्छन् ।

स्काई स्पोर्ट्सको अनुसार हाल म्याच फिटनेसका लागि प्रशिक्षण गरिरहेका मेस्सीले अगस्ट २९ मा हुने राइम्सविरुद्धको खेलमा सुरुवात गर्नेछन्। लिगमा २ खेल खेलेको राइम्सले दुवै खेलमा अंक बाढेको छ । त्यस खेलबाट मेस्सिले पिएसजीका लागि डेब्यु गर्नेछन् ।

आइतबार स्ट्रास्बर्गविरुद्धको खेलअघि बोल्दै प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सीले अझै आवश्यक प्रशिक्षण गर्न बाँकी रहेको बताएका थिए। “मेस्सीले कोपा अमेरिका जितेको १ महिनापछि प्रशिक्षण सुरु गरेको यो दोस्रो दिन हो। हामि यो बिस्तारै गरेर एक अर्कालाई राम्रोसँग बुझ्छौं। त्यसपछि मेस्सीले सहज भएको महसुस गरेपछि उनि डेब्यु गर्न सक्नेछन्।”

पिएसजीले यस ट्रान्सफर विन्डोमा ५ खेलाडी अनुबन्ध गरेको थियो । नयाँ खेलाडीमध्य हाकिमी र वाइनाल्डमले क्लबबाट डेब्यु गरिसकेका छन् । सेन्टर ब्याक सर्जियो रामोस भने चोटका कारण फिट छैनन् ।

मेस्सी र युरो २०२० विजेता गोलरक्षक डोनारुम्माले भने टिमसँग ढिलो जोडिएका कारण डेब्यु गर्न केहि प्रतीक्षा गर्नु परेको हो । मेस्सीले क्लबबाट ३० नम्बरको जर्सी लगाउने छन् ।

२०७८ भाद्र १, मंगलवार मा प्रकाशित