पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की चम्किदा साविक विजेता बायर्न म्युनिख सर्वाधिक नवौं पटक जर्मन सुपर कप च्याम्पियन बनेको छ । गए राति सम्पन्न खेलमा बायर्नले चिर परिचित प्रतिद्धन्द्धी बोरुसिया डर्टमुन्डलाई उसैको घरमा ३-१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
सिग्नल इडुन पार्कमा भएको खेलमा बायर्नलाई उपाधी दिलाउन लेवान्डोस्कीले २ तथा जर्मन फरवार्ड थोमस मुलरले १ गोल गरे । डर्टमुन्डका लागि मार्काे रिउसले गरेको गोल केवल सान्त्वनामा सिमित बन्यो ।
बायर्नले गत सिजन डर्टमुन्डलाई नै ३–२ ले हराउँदै जर्मन सुपर कपको उपाधि जितेको थियो । जर्मन सुपर कपमा बुन्डेस लिगा च्याम्पियन र डिएफबी पोकल विजेताबीच प्रतिस्पर्धा हुने प्रावधान छ । बायर्न बुन्डेसलिगा तथा डर्टमुन्ड डिएफवी पोकल च्याम्पियन टोली हो ।
पहिलो हाफको समाप्तिमा बायर्नले लेवान्डोस्कीको गोलमा १-० को अग्रता बनायो थियो । उनले खेलको ४१ औं मिनेटमा सर्ज गिनाब्रीको क्रसमा हेडरमार्फत सानदार गोल गरेका थिए ।
दोस्रो हाफमा बायर्नले २ गोल गर्दा डर्टमुन्डले १ गोल फर्कायो । ४९ औं मिनेटमा मुलरले सहज गोल गर्दै भ्रमण टोलीको अग्रता दोब्बर पारे । सर्ज गिनाब्रीले दिएको लो क्रसलाई लेवान्डोस्कीले गरेको फ्लिक प्रहार गोलरक्षक ग्रेगर कोवेलले लाएर फर्किएरपछि मुलरले खाली पोस्टमा वान टचमा गोल गरेका थिए ।
५२ औं मिनेटमा नर्वेजियन फरवार्ड एर्लिङ हालान्डले वान भर्सेस वानको स्थितिमा गरेको गोल अफसाइड ठहरिएको थियो ।
६४औं मिनेटमा कप्तान मार्काे रिउसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । जुडे बेलिङमले मिलाएको पासमा उनले बक्स बाहिरबाट सानदार फिनिस गरेका थिए । त्यसमा बायर्नका गोलरक्षक नेउरलाई कुनै अवसर थिएन ।
तर, त्यसको १० मिनेटपछि लेवान्डोस्कीले व्यक्तिगत दुई गोल गर्दै बायर्नलाई ३-१ को आरामदायी अग्रता दिलाए । कोरिन्टन टोलिसोले डर्टमुन्डका डिफेन्डरलाई बिट गर्दै लेवान्डोस्कीलाई गरेको पासमा उनले कुनै गल्ति गरेनन् ।
It's what we do 🏆🎊#Supercup #MiaSanMia pic.twitter.com/Er4KnxdY2t
— FC Bayern English (@FCBayernEN) August 17, 2021
दुवै टिमले राम्रो अवसर सिर्जना गरेता पनि खेलमा अन्य गोल सम्भव नहुदा बायर्नले यो सिजन आफ्नो पहिलो उपाधी उचाल्यो । प्रि-सिजनका ४ खेलमा पराजित भएको बायर्नले लिगको सुरुवाती खेलमा पनि अंक बाढेको थियो । यद्यपि टोलीले फाइनल खेलमा भने आफ्नो समर्थकहरुलाई निराश पारेन ।
गत सिजनको अन्त्यसँगै तत्कालिन प्रशिक्षक हान्सी फ्लिकलाई प्रतिस्थापन गरेका जुलियन नागेल्समानले बायर्नमा पहिलो उपाधी जित्न सफल भए । बायर्नलाई च्याम्पियन्स लिग जिताएका फ्लिक भने जर्मनी राष्ट्रिय टोलीका प्रशिक्षकमा नियुक्ति भएका थिए ।