युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले युरोपका विभिन्न क्लबसँग आफ्नो नाम जोडिएर आएकोमा असन्तुष्टि पोखेका छन् । उनले समाजिक संजालमार्फत आफ्नो सम्भावित ट्रान्सफरलाई लिएर स्पेनिस संचारमाध्यमले जारि गरेको समाचारलाई आलोचना गरेका हुन् ।
पछिल्लो समय विभिन्न प्रतिष्ठित संचारमाध्यमहरुले रोनाल्डो पुनः आफ्नो पुर्व क्लब रियल म्याड्रिडमा अनुबन्ध हुन लागेको बताएको थियो । जसपछि म्याड्रिडका प्रशिक्षक कार्लो एन्चेलोटिले मंगलबार यस हल्ला बारे बोलेका थिए । उनले ट्विटमार्फत रोनाल्डो रियल म्याड्रिडको लेजेन्ड खेलाडी भएता पनि उनलाई अनुबन्ध गर्ने बारे नसोचेको बताएका थिए ।
“रोनाल्डो रियल म्याड्रिडको लेजेन्ड हुन् र उनमा मेरो माया र साथ छ । तर, मैले उनलाई अनुबन्ध गर्ने बारे कहिले सोचेको छैन । हामी अगाडि हेर्छौं ।”, उनले ट्विटमार्फत बताएका हुन् ।
Cristiano es una leyenda del Real Madrid y tiene todo mi cariño y respeto. Nunca me he planteado ficharle. Miramos hacia adelante. #HalaMadrid
— Carlo Ancelotti (@MrAncelotti) August 17, 2021
यस्तै उनको नाम इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीसहित फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सँग पनि जोडिएको थियो । रोनाल्डोले अरुलाई आफ्नो नाममा नखेल्न आग्रह गर्दै यसबारे आफ्नो मौनता तोडेका छन् ।
“मसँग नजिक भएका सबैलाई थाहा छ म आफ्नो काममा कति केन्द्रित हुन्छु भन्ने, थोरै बोल्ने र धेरै गर्ने मेरो करियरको सुरुवात देखिकै आदर्श हो । उनले इन्स्टाग्राममा लेखेका छन्, “पछिल्लो समय मेरा बारेमा लेखिएका र भनिएका कुरा बारे म आफ्नो धारणा प्रष्टपार्न चाहन्छु । यो सबै कुरा मान्छे र खेलाडीका रुपमा अपमान भन्दा बढी हो । यसमा जोडिएका क्लब र त्यसमा कार्यरत स्टाफहरुलाई पनि अपमानित बनाएको छ ।”
“रियलमा मेरो इतिहास लेखिसकिएको छ । त्यो अंक र उपाधि, किर्तिमान र हेडलाइनमा कोरिसकेको छ । यी सबै बेर्नाबेउको संग्रहालयमा सुरक्षित छन् । “,उनले भनेका छन्, “अनि जे मैले प्राप्त गरे मलाई ती नौ बर्ष र त्यहाँका समर्थकप्रति सम्मान छ । रियलका सच्चा समर्थकलेले मलाई आफ्नो मुटुमा राखेका छन् र मैले पनि उनीहरुलाई आफ्नो मुटुमा राखेको छ ।”
“सत्यताविना नै स्पेनका कतिपय सञ्चारमाध्यमले मेरो बारेमा लेखिरहेका छन्, म मेरो मौनतालाई तोड्दै भ्रमको खेती नर्गनका लागि सबैलाई आग्रह गर्न चहान्छु “, रोनाल्डोले बढ्दो हल्लाबारे भनेका छन् ।
रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिडमा अनुबन्धित भएका थिए । म्याड्रिडबाट उनले ४३८ खेल खेल्दा ४५० गोल गरेका छन् । म्याड्रिडबाट रोनाल्डोले ४ च्याम्पियन्स लिग, ३ क्लब विश्व कप, १ युरोपेली सुपर कप, २ ला लिगा र समान २ कोपास डेल रे र स्पेनिस सुपर कप जितेका छन् ।
म्याड्रिडबाट उनि सन् २०१८ मा ४ वर्षे सम्झौतामा इटालियन क्लब युभेन्ट्स गएका थिए । जुभेन्ट्समा औसत प्रदर्शन गर्दै आएका ३६ वर्षीय पोर्चुगिज फरवार्ड रोनाल्डोको सम्झौता सकिन १० महिना बाँकी रहेको छ ।