इटालियन मिडफिल्डर लोकाटेली युभेन्ट्समा अनुबन्धित

युवा मिडफिल्डर म्यानुअल लोकाटेली इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । २३ वर्षे उनि ३५ मिलियन युरोमा इटालियन क्लब सासोउलोबाट २ वर्षे लोनमा अनुबन्ध भएका हुन् । उनले क्लबबाट २७ नम्बरको जर्सी लगाउने छन् ।

गत महिना इटालीले २०२० युरोकपको उपाधी जित्दा उनि टिमको महत्वपूर्ण सदस्यको रुपमा थिए । उनले उक्त प्रतियोगितामा ५ खेल खेल्दा २ गोल गरेका थिए । लोकाटेलीले प्रतियोगितामा सानदार प्रदर्शन गर्दै चर्चा कमाएका थिए ।

लोकाटेलीलाई सासोउलोले २०२३ मा पुनः अनुबन्ध गर्न सक्ने सम्झौता भएको छ । सासोउलोले उनलाई अनुबन्ध नगरेको खण्डमा उनि सन् २०२३ जुनपछि युभेन्ट्समा स्थायी रुपमा थप ३ वर्षको लागि अनुबन्ध हुनेछन् ।

सासोउलोबाट उनले आफुलाई विश्व स्तरीय मिडफिल्डरको रुपमा स्थापित गरेका थिए । लोकाटेली २०१८ मा इटालियन क्लब एसी मिलानबाट लोनमा सासोउलो आएका थिए । त्यसपछि लगत्तै अर्को वर्ष उनि सासोउलोमा स्थायी रुपमा अनुबन्ध भएका थिए ।

उनले सबै प्रतियोगिता गरेर सासोउलोबाट ९९ खेल खेल्दा ७ गोल र ११ असिस्ट दिएका थिए । लोकाटेलीले १५ अन्तराष्ट्रिय क्याप जितेका छन् ।

उनलाई यो समर ट्रान्सफर विन्डोमा अनुबन्ध गर्न इंग्लिस क्लब आर्सनल र लिभरपुल पनि इच्छुक थिए । शिक्षक मासिलियानो एलेग्रीको नेतृत्वमा तथा युभेन्ट्सले यो ट्रान्सफर विन्डोमा अनुबन्ध गरेको उनि पहिलो खेलाडी हुन् ।

युभेन्ट्सले गत सिजन २०१२ पछि पहिलो पटक लिग जित्न चुकेको थियो । चौथौं स्थानमा लिगको अन्त्य गरेको युभेन्ट्सले तत्कालिन प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गर्दै पुर्व प्रशिक्षक मासिलियानो एलेग्रीलाई नियुक्त गरेको थियो ।

युभेन्ट्सले आइतबार उडीनेससँग खेल्दै २०२१/२२ सिजिनको सुरुवात गर्नेछ ।

२०७८ भाद्र ३, बिहीबार मा प्रकाशित