स्पेनिस क्लब बार्सिलोनाको आर्थिक समस्या चिन्ताजनक रहेको क्लबका अध्यक्ष जोआन लार्पोटेले बताएका छन् । उनका अनुसार क्लब हाल एक अर्ब १५ करोड पाउन्ड ऋणमा रहेको छ ।
उनले क्लबको आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा क्लबले दिने भुक्तानी हाल कुल आम्दानीको करिब १०३ प्रतिशत रहेको बताएका हुन् । जुन अरु क्लबको भन्दा २०–२५ प्रतिशत बढि हो । क्लबले गत जनवरीबाट मात्र एक सय ७० मिलियन पाउण्ड घाटा व्यहोरेको पनि उनले बताए । लर्पोटाले निवर्तमान अध्यक्ष जोसेप मारियाका कारण ऋणको दायित्व बढेको आरोप समेत लगाए ।
आर्थिक समस्याकै कारण अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले क्लबसँग सम्झौता नविकरण गर्न सकेको थिएन । जसपछि क्लब छाड्न बाध्य भएका उनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका थिए ।
लिओनेल मेस्सीको सम्झौता थप्दा बार्सिलोनाको नियमित तलब भुक्तानी आम्दानीको अपेक्षा ११० प्रतिशतसम्म पुग्ने थियो । तर, ला लिगाले मेस्सीको अनुबन्धन थप्ने बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको हो ।
आर्थिक समस्या भएको कारण अब क्लब खेलाडीहरुको तलब कटौती गर्ने तरखरमा रहेको छ । तलब कटौतीका लागि जेरार्ड पिके, सर्जियो राबेर्टो, जोडी अलावा, सर्जियो बुस्क्वेट्सले सहमति जनाइसकेको बताइएको छ ।