गोकुलम केरेला एफसीको गोलरक्षक प्रशिक्षकमा मनीष तिम्सिना नियुक्त

नेपाली प्रशिक्षक मनीष तिम्सिना भारतको आइ लिग च्याम्पियन गोकुलम केरेला एफसीको गोलरक्षक प्रशिक्षकमा नियुक्त भएका छन् ।

एएफसी ए लाइन्स कोर्षमा सहभागी भएका ३३ वर्षीय तिम्सिना र केरेलाबीच सन् २०२१–२२ को सिजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार उनी सन् २०२२ मे अन्तिमसम्म क्लबमा आबद्ध रहनेछन् ।

आइ लिग टोलीमा कुनै पनि नेपाली प्रशिक्षक आबद्ध भएको यो पहिलो अवसर हो । गोकुलम त्यही टोली जसको महिला टोलीले महिला आई लिग जित्दा त्यसबाट नेपाली राष्ट्रिय टोलीकी सावित्रा भण्डारीले खेलेका थिइन् । गत सिजन गोकुलमको महिला र पुरुष दुवै टोलीले लिग उपाधि जित्न सफल भएको थियो ।

तिम्सिनाले आई लिग टोलीको गोलकिपर प्रशिक्षक नियुक्त हुनुलाई आफ्नोसँगै नेपाली फुटबलका लागि पनि खुसीको खबर भएको बताएका छन् । एन्फाको धरान एकेडेमीका गोलकिपर प्रशिक्षकका रुपमा कार्यरत ३३ वर्षे तिम्सिनाले खेलाडीका रुपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भु, ब्रिगेड ब्वाइजबाट खेलिसकेका छन् ।

२०७८ भाद्र ३, बिहीबार मा प्रकाशित