ब्राजिलियन मिडफिल्डर फिलिप्पे कोउटिन्होले बार्सिलोनाबाट आफुलाई प्रमाणित गर्ने तेस्रो मौका पाउने भएका छन् । बार्सिलोनाले उनलाई यस समर ट्रान्सफर विन्डोमा बेच्ने खेलाडीको सुचीमा राखेता पनि राम्रो प्रस्ताव नआउदा उनि यो सिजन बार्सिलोनामै बस्ने भएका हुन् ।
२०१७/१८ सिजनको बिचमा बार्सिलोना आएका उनले सुरुवाती दिनहरुमा संघर्ष गर्नु परेको थियो । लिभरपुलबाट सानदार प्रदर्शन गर्दै मोटो रकममा बार्सिलोनामा अनुबन्धित भएका उनले सोचे अनुरुपको प्रदर्शन गर्न सकेका थिएनन् ।
त्यसपछि २०१९/२० सिजनको लागि उनि लोनमा जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका थिए । च्याम्पियन्स लिग अन्तर्गत बायर्नले बार्सिलोनामाथि ८-२ को लज्जास्पद जित निकाल्दा कोउटिन्होले जर्मन क्लबका लागि बेन्चबाट आएर २ गोल समेत गरेका थिए । उनले त्यस सिजन बायर्नबाट ट्रेबल जितेका थिए ।
गत समरमा उनलाई प्रशिक्षक रोनाल्ड कोम्यानले दोस्रो मौका दिएका थिए । त्यस मौकामा खरो उत्रने प्रयास गरिरहेका कोउटिन्होलाई चोटले सताएपछि लय गुमाउन पुगेका थिए ।
२९ वर्षीय कोउटिन्होले फिटनेसको कारण प्रि-सिजनका खेलहरु पनि गुमाएका थिए । जसकारण उनले लिगको सुरुवात अगाडी आफ्नो क्षमता देउखाउँदै प्रशिक्षकलाई प्रभावित पार्ने अवसर पाएका थिएनन् ।
बार्सिलोनालाई हाल मिडफिल्डरको आवश्यक पनि रहेको छ । क्लबले नेदरल्यान्ड्सका मिडफिल्डर जर्जिनियो वाइनाल्डमलाई अनुबन्ध गर्न नसकेपछि कोउटिन्होको महत्व बढेको थियो । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी पनि यसै सिजन बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका कारण कोउटिन्होलाइ उनको प्रतिस्थापनको रूपमा समेत हेरिएको थियो । दुबै खेलाडीको खेल्ने शैली र खेल्ने पोजिसन उस्तै भएको कारण उनले यो सिजन राम्रो गर्न सक्ने अनुमान गरिएको छ ।
२०२१/२२ सिजनको ला लिगा अन्तर्गत बार्सिलोनाको रियल सोसियाड बिरुद्धको पहिलो खेलमा लामो इन्ज्युरीपछि फर्किएका उनि पर्याप्त प्रशिक्षण नगरेको कारण टोलीमा थिएनन् ।
कोउटिन्हो आफ्नो लंग रेन्ज प्रहार गर्दै गोल गर्ने र असिस्ट दिन सक्ने क्षमताको लागि चिनिन्छन् । उनले लिभरपुलबाट खेल्दा आफुलाई विश्व स्तरीय खेलाडीको रुपमा स्थापित गरेका थिए । क्लबबाट समग्रमा २०१ खेल खेल्दा उनले ५४ गोल गर्नुका साथै ४३ असिस्ट दिएका थिए ।
तर, बार्सिलोनामा निराशाजनक प्रदर्शन गरेका उनलाई समर्थकहरुले ‘फ्लप’ खेलाडी भनेका छन् । उनलाई यो सिजन आफुलाई प्रमाणित गर्ने राम्रो अवसर जुरेको छ । यद्यपी उनलाई सहज भने पक्कै हुने छैन । समर्थहरुसँग तितो सम्बन्ध रहेका उनले यो सिजन दर्शकहरुलाई प्रवेश निषेध नरहेको कारण आफुलाई प्रमाणित गर्न थप जटिलता हुन सक्छ ।