एघार महिनामै अर्को टि-२० विश्वकप, यी हुन् खेल हुने अस्ट्रेलियाका ७ मैदान

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप सकिएलगत्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले अस्ट्रेलियामा आयोजना हुने आठौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२२ को खेल मैदानहरु घोषणा गरेको छ। 

एघार महिना पछि अर्थात् अक्टोबर २०२२ मा अस्ट्रेलियामा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म चल्नेछ। नवौं संस्करणको टि-२० विश्वकप भने २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन सक्ने सम्भावना रहेको छ। 

अस्ट्रेलियाको सातवटा शहरहरु एडीलेड, ब्रिसबेन, जीलंग, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा खेलहरु हुनेछन्। मेलबर्न क्रिकेट मैदानमा फाइनल खेलिनेछ भने सेमीफाइनलका दुई खेल सिड्नी क्रिकेट मैदान र एडीलेड ओभल मैदानमा नोभेम्बर ९ र १० तारिखमा खेलिनेछ। ब्रिसबेनको द गाबा, जीलंगको कार्डीनिया पार्क, होबार्टको बेलीरिभ ओभलमा अन्य खेलहरु खेलिनेछन्। 

२०२२ टि-२० विश्वकपको सुपर-१२ चरणमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया ८ वटा टोलिहरु स्वतः छनोट भैसकेका छन्। न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, पाकिस्तान र दक्षिण अफ्रीकाले वरियताको आधारमा सोझै सुपर-१२ मा स्थान बनाएका हुन्। नामिबिया, स्कटल्याण्ड, श्रीलंका र वेस्टइन्डिजले समुह चरण खेल्नेछन् भने समुह चरणमा खेल्ने अन्य ४ टिमको छनोट विश्वकप ग्लोबल छनोटबाट हुनेछ। आयरल्याण्ड, नेदरल्याण्ड, ओमान र पपुवा न्यु गिनीले भने ग्लोबल छनोट प्रतियोगिता खेल्नुपर्नेछ।

फेब्रुअरीमा ओमानमा तथा जुन/जुलाईमा जिम्बाब्वेमा हुने दुई वटा टि-२० विश्वकप ग्लोबल छनोटमा नेपाल सहित १६ टिम सहभागी हुनेछन्। दुई वटा ग्लोबल छनोटबाट २/२ टिम गरि ४ वटा टिम २०२२ टि-२० विश्वकपमा छनोट हुनेछन्। नेपालले वरियताको आधारमा सोझै ग्लोबल छनोटमा स्थान बनाएको हो। 

नेपाल लगायत जिम्बाब्वे, सिंगापुर र युएई वरियताको आधारमा स्वतः ग्लोबल छनोट प्रतियोगिता खेल्न छनोट भएको हो। यस्तै जर्सी, फिलिपिन्स, हंगकंग, बहराईन र जर्मनी पनि क्षेत्रीय छनोट हुँदै ग्लोबल छनोट पुगीसकेका छन्। अन्य दुई टिमको टुंगो लाग्न बाँकि छ।

२०७८ कार्तिक ३०, मंगलवार मा प्रकाशित