भारत र न्युजिल्यान्ड बीच पहिलो टि-२० आज, नयाँ नेतृत्वमा दुवै टिमको परिक्षा

न्युजिल्यान्डको भारत भ्रमण अन्तर्गत आज ( नोभेम्बर १७ ) देखि तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज सुरु हुँदैछ। टि-२० विश्वकपको उपविजेता न्युजिल्यान्ड विश्वकप सकिएलगत्तै भारत भ्रमणमा आएको हो।

सिरिज अन्तर्गत पहिलो खेल नेपाली समय राति ७:१५ बजे भारतको जयपुर स्थित सवाई मानसिंह स्टेडियममा सुरु हुनेछ।

सिरिजमा भारत पहिलो पटक राहुल द्रविडको मुख्य प्रशिक्षण तथा रोहित शर्माको कप्तानीमा खेल्नेछ। बिराट कोहलीले टि-२० कप्ताने छाडेपछि रोहितले कप्तानी पाएका हुन्। सिरिजमा बिराट कोहली सहभागी छैनन् जो यस पछि हुने दुई टेस्टको सिरिज अन्तर्गत दोश्रो टेस्टमा कप्तानको रुपमा फर्कनेछन्। सिरिजमा जस्प्रित बुम्राह, मोहम्मद शामी, रभीन्द्र जडेजा, हार्दिक पान्ड्या र शार्दुल ठाकुर जस्ता खेलाडीहरुलाई भारतले आराम दिएको छ।

युएईमा सम्पन्न टि-२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको थियो जुन क्रममा भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर पुरा गरेको थियो। उक्त हारको बदला लिने अवसर भारतसंग छ। कप्तान केन विलियमसन बिना मैदान उत्रने न्युजिल्यान्डको कप्तानी टिम साउदीले पाएका छन् जो विश्वकपकै लय दोहोर्याउन चाहन्छन्।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहास हेर्ने हो भने भारत र न्युजिल्यान्ड बीच खेलिएका १५ वटा खेल मध्ये ९ वटामा न्युजिल्यान्ड र ६ वटा खेलमा भारत विजयी भएको छ।

भारतको सम्भावित ११ : रोहित शर्मा ( कप्तान ) , इशान किशन, केएल राहुल, सूर्यकुमार यादव, श्रेयस ऐयर, रिशभ पन्त ( विकेटकिपर ) , रभीचन्द्रन आश्विन, अक्षर पटेल/हर्षल पटेल, भुवनेश्वर कुमार/मोहम्मद सिराज, दिपक चाहर युजभेन्द्र चहल

न्युजिल्यान्डको सम्भावित ११ : डेरेल मिचेल, मार्टिन गप्टिल, मार्क च्यापम्यान, ग्लेन फिलिप्स, टिम सेफर्ट ९ विकेटकिपर ) , जेम्स निशम, मिचेल स्यान्टनर, एडम मिल्ने/कायल जेमिसन, टिम साउदी ( कप्तान ) , इश सोढी, ट्रेन्ट बोल्ट

२०७८ मंसिर १, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment