न्युजिल्यान्ड बिरुद्ध भारतको सिरिज जितमा रोहित र राहुलको कीर्तिमान

दोश्रो खेलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै भारतले भ्रमण टोलि न्युजिल्यान्ड बिरुद्ध तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल बाँकी रहँदै २-० ले आफ्नो पक्षमा पारेको छ। पहिलो खेल भारतले ५ विकेटले जितेको थियो।

भारतको राँची स्थित जेएससीए अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाएर भेटायो।

भारतको लागि ओपनर केएल राहुलले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ४९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर तथा कप्तान रोहित शर्माले ३६ बलमा १ चौका र ५ छक्का मद्दतले ५५ रन बनाए। राहुल र रोहितले पहिलो विकेटको लागि ११७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। चौधौं ओभरमा राहुललाई टिम साउदीले क्याच आउट पारे। सोह्रौं ओभरमा रोहित र सुर्यकुमार यादवलाई साउदीले पेभेलियन फर्काएता पनि भारतको जित यात्रा रोक्न सकेनन्। भेंकटेस ऐयर र रिशभ पन्तले इनिंग्सलाई सुरक्षित गन्तब्य प्रदान गरे। ऐयर र पन्त दुवैले अविजित समान १२ रन बनाए।

न्युजिल्यान्डको बलिंगमा कप्तान टिम साउदीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १६ रन खर्चिए।

यस अघि टस हारेर ब्याटिंग गरेक न्युजिल्यान्डले २० ओभरमा ६ विकेट क्षेतीमा १५३ रन बनाएको थियो। उसको लागि ग्लेन फिलिप्सले सर्वाधिक ३४ रन, मार्टिन गप्टिल र डेरेल मिचेलले समान ३१ रन तथा मार्क च्यापम्यानले २१ रन योगदान दिए। १५ ओभरमा १२५/३ को अवस्थामा रहेको न्युजिल्यान्डले अन्तिम ५ ओभरमा २ मात्र विकेट गुमाएता पनि योगफलमा २८ रन मात्र जोड्न सक्यो। त्यस अघि ओपनर गप्टिल र मिचेलले ४८ रनको साझेदारी गरेका थिए।

भारतको बलिंगमा हर्षल पटेलले २ विकेट ( ४-०-२५-२ ) लिए भने भुवनेश्वर कुमार ( ४-०-३९-१ ) , दिपक चाहर ( ४-०-४२-१ ) , अक्षर पटेल ( ४-०-२६-१ ) र रभीचन्द्रन आश्विनले ( ४-०-१९-१ ) समान एक विकेट लिए।

रोहित र राहुलको कीर्तिमान

यसै बीच रोहित शर्मा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतकीय साझेदारीमा सहभागी हुने ब्याट्सम्यान बनेका छन्। बाबर आजम र मार्टिन गप्टिलको ( १२ पटक ) रेकर्ड तोड्दै रोहितले १३ औं पटक शतकीय साझेदारीमा हिस्सा भएका हुन्। तेश्रो धेरै डेभिड वार्नर ११ पटक शतकीय साझेदारीको हिस्सा रहेका छन्। यस्तै केएल राहुल र रोहित शर्माको जोडी संयुक्त रुपमा टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतकीय साझेदारी गर्ने ब्याट्सम्यान पनि बनेका छन्। पाकिस्तानका बाबर आजम र मोहम्मद रिजवानले पनि ५ पटकनै शतकीय साझेदारी गरेका छन्। न्युजिल्यान्डका मार्टिन गप्टिल र केन विलियमसनले ४ पटक तथा भारतकै रोहित शर्मा र शिखर धवनले ४ पटक शतकीय साझेदारी गरेका छन्।

२०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित