कोहलीको रेकर्ड तोड्दै गप्टिल बने टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रनकर्ता

भारतीय एकदिवसीय र टेस्ट कप्तान बिराट कोहलीको रेकर्ड तोड्दै न्युजिल्यान्ड ओपनर मार्टिन गप्टिल टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको सर्वाधिक रनकर्ता बनेका छन्।

घरेलु टोलि भारत बिरुद्ध सिरिजको दोश्रो टि-२० अन्तर्राष्ट्रियमा ३१ रन बनाउने क्रममा गप्टिलले ठूलो कीर्तिमान आफ्नो नाम गरेका हुन्।

किवी ब्याट्सम्यानले १११ टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा १०७ इनिंग्समा ब्याटिंग गर्दै ३,२४८ रन बनाएका छन्। जुन क्रममा गप्टिलले २ वटा शतक र १९ अर्धशतक प्रहार गरेका छन् भने ३२.४८ को औशत र १३६.६४ को स्ट्राइक रेटमा उक्त रन बनाएका हुन्। बिराट कोहलीले ९५ खेलको ८७ इनिंग्समा ब्याटिंग गर्दै ३,२२७ रन बनाएका छन् भने तेश्रो धेरै भारतका टि-२० फर्म्याटका कप्तान रोहित शर्माले ११८ खेलको ११० इनिंग्समा ब्याटिंग गर्दै ३,१४१ रन बनाएका छन्। गप्टिल, कोहली र रोहित बाहेक अन्य ब्याट्सम्यानले ३ हजार बढी रन बनाएका छैनन्।

गप्टिल टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन् जसले कुल १६१ छक्का प्रहार गरेका छन्। दोश्रो धेरै भारतका रोहित शर्माले १४७ वटा तथा तेश्रो धेरै वेस्टइन्डिजका क्रिस गेलले १२४ वटा छक्का प्रहार गरेका छन्।

३५ वर्षीय दायाँ हाते ब्याट्सम्यान गप्टिलले सन् २००९ मा अस्ट्रेलिया बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

२०७८ मंसिर ४, शनिबार मा प्रकाशित