‘ए’ डिभिजन लिग : संकटा र शेर्पाको बराबरी

सहिद स्मारक ‘ए’डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथं रंगशालामा शनिबार भएको पहिलो खेलमा हिमालय र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हुन् । दुवै गोल दोस्रो हाफमा सम्भवभएको खेलमा सुरुवाती अग्रता संकटा क्लबले लिएको थियो । ६० औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटाको उत्साह जगाए ।

शेर्पाका गोलरक्षक दिप कार्कीको हातबाट फुत्किएको बललाई रुचालले सोझै जाली चुमाए । संकटाको गोलपछि जोसिएको शेर्पाले तीन मिनेट लगत्त्तै बराबरी गोल फर्काए । ६३ औँ मिनेटमा शेर्पाका त्रिदेव गुरुङले हेडगोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बने । संकटाका लक्ष्मण रुचाल ‘म्यान अफ दी म्याच भए ।

लिगको पहिलो बराबरीसँगै संकटा र शेर्पाले एक एक अंक जोडेका छन् । खेलपछि संकटाका प्रशिक्षक विष्णु गुरुङले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । ‘लिगमा पहिलो पटक टिम सम्हालेको हो । खेलाडी विस्तारै सेट हुँदै जानेछन् । रिजल्ट आउन समय लाग्छ,’ गुरुङले भने ।
शेर्पाका प्रशिक्षक युगलकिशोर राईले पहिलो खेलको बराबरी नतिजाबाट सन्तुष्ट रहेको बताए । ‘प्रिसिजनको मैत्री खेलसहित हामीले पाँच खेल खेल्यौं । तर आज पहिलो खेलमै बराबरीमा रोकियौं । आगामी खेलमा सुधार गर्दै जानेछौं,’ राईले भने।

२०७८ मंसिर ४, शनिबार मा प्रकाशित