रोहितको अर्धशतक, भारतद्वारा न्युजिल्यान्डलाई १८५ रनको लक्ष्य

भारत र न्युजिल्यान्ड बीच तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेलमा भारतले भ्रमण टोलि न्युजिल्यान्डलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। ईडन गार्डेन्स, कोलकातामा टस जितेर ब्याटिंग रोजेको भारतले २० ओभरमा ७ विकेट क्षेतीमा १८४ रन बनाएको हो।

भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ३१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। इशान किशनले २९, श्रेयस ऐयरले २५, दिपक चाहरले अविजित २१, भेंकटेस ऐयरले २०, हर्षल पटेलले १८ रन बनाए।

पहिलो विकेटको लागि रोहित र इशानले आक्रामक सुरुवात गरे ६९ रन जोडे। सातौँ ओभरमा किशान र सूर्यकुमार यादवलाई मिचेल स्यान्टनरले क्याच आउट पारे। स्यान्टनरले रिशभ पन्तलाई पनि लामो समय क्रिजमा जम्न दिएनन्। रोहितले चौंथो विकेटको लागि श्रेयस ऐयरसंग २० रन जोडे। बाह्रौं ओभरमा रोहितलाई इश सोढीले क्याच आउट पारे। पाँचौ विकेटको लागि श्रेयसले भेंकटेससंग ३६ रन जोडे। सोह्रौं ओभरमा भेंकटेसलाई ट्रेन्ट बोल्ट र सत्रौं ओभरमा श्रेयसलाई एडम मिल्नेले क्याच आउट गरे। सातौँ विकेटको लागि अक्षर पटेल र हर्षल पटेलले २२ रन जोडे। १९ औं ओभरमा हर्षल लकी फर्गुसनबाट हिट विकेट भए। अन्तिममा दिपक चाहरले आक्रामक ब्याटिंग गरे। मिल्नेले गरेको २० औं ओभरमा भारतले १९ रन बनायो।

न्युजिल्यान्डका बलर मिचेल स्यान्टनरले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) लिए। यस्तै एडम मिल्ने ( ४-०-३१-१ ), लकी फर्गुसन ( ४-०-४५-१ ), ट्रेन्ट बोल्ट ( ४-०-३१-१ ) , इश सोढी ( ४-०-३१-१ ) ले समान एक विकेट लिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल भारतले क्रमशः ५ विकेट र ७ विकेटले जितेको थियो।

२०७८ मंसिर ५, आईतवार मा प्रकाशित